राजनीति


यी हुन् गण्डकीमा कांग्रेसबाट बन्न लागेका चार मन्त्री

यी हुन् गण्डकीमा कांग्रेसबाट बन्न लागेका चार मन्त्री

वाशुदेव मिश्र
बैशाख २, २०८३ बुधबार १२:१४, काठमाडौँ

नेपाली कांग्रेसले यस पटक गण्डक प्रदेशको मन्त्रिपरिषद्मा दुई जना जिल्ला सभापतिलाई ठाउँ दिँदै छ। 

मन्त्री हुने सूचीमा गोर्खाका सभापति नन्दुप्रसाद न्यौपाने र बागलुङका सभापति जीत शेरचन रहेका छन्। त्यस्तै, नम्डु गुरुङ र रेखा गुरुङलाई पनि कांग्रेसले मन्त्री बनाउने भएको छ। 

नम्डु मुस्ताङको प्रदेश सभा क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन् भने रेखा पर्वतकी हुन्। उनलाई कांग्रेसले समानपातिक सांसद बनाएको हो। 

कांग्रेसबाट मन्त्री बन्न लागेका जीत शेरचनले आर्थिक मामिला मन्त्रालय, नन्दप्रसादले उर्जा, जलस्रोत तथा खानेपानी, नम्डुले युवा तथा खेलकुद र रेखाले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने तय भएको कांग्रेस स्रोतले जानकारी दिएको छ। 

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले रोजका कांग्रेसका मन्त्रीहरूमध्ये गोर्खाका सभापति नन्दप्रसाद न्यौपाने नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेर लाग्ने नेतामध्येका एक हुन्। पार्टी सभापति गगन थापासँग निकट रहेका उनले लामो समयदेखि मन्त्री बन्ने कसरत गरिरहेका थिए। 
पछिल्लो मन्त्रिपरिषद् फेरबदल हुँदा सबैजसो जिल्ला सभापतिहरू मन्त्री बनिसकेका, आफू र बागलुङ सभापतिमात्र मन्त्री नबनेकोले दुवैलाई समेट्नुपर्ने उनको माग थियो। गोर्खाकै भएका कारण उनको मुख्यमन्त्रीसँग गहिरो सम्बन्ध छ। 

मुख्यमन्त्री चाहिँ नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका नेता हुन्। उनी महाधिवेशनको बेला कार्यसम्पादन समितिमै थिए र त्यही समितिले तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाहीको सिफारिस गरेको थियो। 

तर, विशेष महाधिवेशनपछि चाहिँ उनी सभापति थापालाई स्वागत गर्न पोखरा विमानस्थलमै पुगेका थिए। स्रोतका अनुसार सभापति थापासँग मुख्यमन्त्रीको सम्बन्ध सुमुधुर बनाउने जिम्मेवारी नन्दप्रसाद न्यौपानैकै थियो। अहिले नन्दले आफू मन्त्री बन्दा जीतलाई पनि मन्त्री बनाउनुपर्छ भन्दा मुख्यमन्त्रीलाई पनि फाइदा नै भएको एक नेताले बताए। 

बागलुङका जीत शेरचन विशेष महाधिवेशन नभएर नियमित महाधिवेशन हुनुपर्छ भन्दै विज्ञप्ति निकाल्नेमध्येका एक हुन्। नन्दुसँगको आत्मियता र जीतलाई मन्त्रिपरिषद्मा समेट्दा आफू अनुकूलको व्यक्ति हुने भएकाले पनि उनको नाम मन्त्रीको सूचीमा चढेको हो। 

रेखाले चाहिँ विशेष महाधिवेशनमा सहभागिता जनाएकी थिइन्। महिलालाई ठाउँ दिँदा रेखा अगाडि परेकी हुन्। उता, नाम्डु हिमालपारिको जिल्लाका नेता भएकाले रणनीतिक रुपमा नै मन्त्री चुनिएको पनि कांग्रेस नेताहरू बताउँछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad