कला


तुलसी घिमिरेको फिल्म ‘पहाड’ले पहिलो दिन कस्तो पायो दर्शकको साथ?

तुलसी घिमिरेको फिल्म ‘पहाड’ले पहिलो दिन कस्तो पायो दर्शकको साथ?

नेपालखबर
बैशाख २, २०८३ बुधबार १३:३१, काठमाडौँ

वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पहाड’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। प्रदर्शनको पहिलो दिन निर्देशक तुलसी घिमिरे, अभिनेता विपिन कार्की, अरुण क्षेत्री, अभिनेत्री रेनुनाथ योगीसँगै डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिनभर काठमाडौँ उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए।

झण्डै नौ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका घिमिरेले दर्शक प्रतिक्रियाले आफू निकै उत्साहित रहेको बताए। ‘हामीले फिल्ममार्फत भन्न खोजेको कुरालाई दर्शकले राम्रोसँग बुझ्नुभएको छ, अधिकांस दर्शकले यसलाई आफ्नै कथा भन्नुभएको छ। मैले जे सन्देश दिन खोजेको थिएँ, त्यो दर्शकसम्म पुगेको छ,’ घिमिरेले भने। 

उनले हल भिजिटका क्रममा सम्पूर्ण उमेर समूहका दर्शकसँग भेटघाट गर्न पाएको बताए। बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानी अभावजस्ता विषयमा आधारित फिल्मले अहिलेको समसामयिक विषयलाई पर्दामार्फत दर्शकसम्म पुर्‍याएको उनको भनाइ छ।

अभिनेता विपिन कार्कीले फिल्मको विषयवस्तुले दर्शकलाई हलसम्म ल्याउने बताए। ‘यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्दा आगामी दिनमा दर्शकको भीड अझ बढ्नेमा विश्वस्त छु। यसले नेपाली माटोको मौलिक कथा प्रस्तुत गरेको छ। फिल्म हेर्नेले पक्कै अन्यलाई सिफारिस गरेर फिल्म हेर्न हलसम्म पठाउनु हुनेछ’, उनले भने।

पहिलो दिन अधिकांस शो हाउसफुल हुँदा र दर्शकले सकारात्मक प्रतिक्रिया दिँदा अभिनेता अरुण क्षेत्री दंग छन्। ‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्री तथा नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ।

नव अभिनेत्री पञ्चमी घिमिरेलाई दर्शकले न्यानो स्वागत गरेका छन्। जसको लागि उनले धन्यवाद दिएकी छन्। 

‘मैले पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिनँ, म कृतज्ञ भएकी छु। म निकै खुशी छु, कथासँग दर्शक जोडिनुभएपछि त्यसका पात्रलाई आफ्नो मान्नु हुने रहेछ। हामीलाई गाउँ/समाजकै पात्रको रुपमा दर्शकले स्वीकार्नुभएको महसूस गरेकी छु’, उनले भनिन्।

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली बन्दै गएका पहाडी क्षेत्र र त्यसले निम्त्याएको सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad