राजनीति


विदेशबाट देउवाको सन्देश- मेरो मन सधैं देश, जनता र लोकतन्त्रमै केन्द्रित छ

विदेशबाट देउवाको सन्देश- मेरो मन सधैं देश, जनता र लोकतन्त्रमै केन्द्रित छ

नेपालखबर
साउन ६, २०८३ बुधबार १७:५२, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि कांग्रेस सदैव दृढ रहने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा देउवा देउवा पक्षका नेताहरूले आयोजना गरेको स्मृति सभाका लागि सन्देश पठाएका थिए। देउवाले पठाएको सन्देश कांग्रेस नेता मिन विश्वकर्माले पढेर सुनाएका थिए। 

उपचारका क्रममा विदेशमा रहेका देउवाले पठाएको सन्देशमा बीपी कोइरालाको मेलमिलापको नीति र जनताको सर्वोच्चताप्रतिको विश्वास आज पनि नेपाली राजनीतिको मुख्य मार्गदर्शक सिद्धान्त रहेको उल्लेख छ। बीपी कोइरालाको नेतृत्वबाट राजनीतिक यात्रा सुरु गरेको ६ दशकभन्दा लामो अनुभव स्मरण गर्दै देउवाले लोकतान्त्रिक संस्कार र मूल्य-मान्यता नै आफ्नो राजनीतिको प्रेरणा स्रोत रहेको बताएका छन्। 
‘नेपालको प्रजातान्त्रिक आन्दोलनका महान नेता बीपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरू गर्ने अवसर पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो। उहाँको विश्वास, जिम्मेवारी र लोकतान्त्रिक संस्कारले मेरो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देश गरेको छ,’ उनले भनेका छन्, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति उहाँको अटल निष्ठा नै मेरो प्रेरणाको श्रोत रह्यो। यही प्रेरणाले मलाई विगत ६ दशकभन्दा बढी समय नेपाली कांग्रेसको साधारण कार्यकर्तादेखि नेतृत्वसम्म आइपुग्ने यात्रामा निरङ्कुशता, अधिनायकवाद र लोकतन्त्र विरोधी शक्तिविरुद्ध संघर्ष गर्न प्रेरित गर्‍यो।’

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै देउवाले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। फरक विचारप्रति असहिष्णु बन्ने, राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग गर्ने र राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने उनको भनाइ छ। 

‘आज असहिष्णुता, प्रतिशोधपूर्ण राजनीति, न्यायपालिका र संवैधानिक संस्थामाथि दबाब सिर्जना गर्ने प्रवृत्ति लोकतन्त्रका लागि अस्वीकार्य छ। यसको विरोध गर्नु नै नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो,’ उनले भनेका छन्, ‘प्रजातन्त्र जनताको सामूहिक आत्मनिर्णय हो। जनमत नै राष्ट्रको भविष्य निर्माण गर्ने सर्वोच्च शक्ति हो। त्यसैले लोकतन्त्रको रक्षा गर्नु भनेको राष्ट्रको रक्षा गर्नु हो।’

देउवाले न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायहरूलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतङ्कित तुल्याउने औजारका रूपमा प्रयोग गर्न खोजिएको आरोप लगाएका छन्। यस्तो चुनौतीपूर्ण घडीमा लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी फेरि कांग्रेसको काँधमा आएको उनले उल्लेख गरेका छन्। 

‘नेपाली कांग्रेसले आठ दशकको गौरवपूर्ण यात्रामा लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र होइन, शान्ति प्रक्रिया, संविधान निर्माण, पुनर्निर्माण र महामारीका चुनौतीबीच जनताको जीवन र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने जिम्मेवारी पनि निर्वाह गरेको छ। यही अनुभवले वर्तमान चुनौती सामना गर्न हामीलाई अझ दृढ बनाएको छ,’ देउवाले भनेका छन्, ‘स्वास्थ्य उपचारका कारण विदेशमा रहे पनि मेरो मन सधैं देश, जनता र लोकतन्त्रमै केन्द्रित छ।’

विगतका आठ दशकमा कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र नगरी शान्ति प्रक्रिया, संविधान निर्माण र प्राकृतिक विपत्तिका समयमा समेत जिम्मेवार भूमिका खेलेको स्मरण गर्दै देउवाले वर्तमान चुनौती सामना गर्न पार्टी पछि नहट्ने स्पष्ट पारेका छन्। 

‘विगतमा जस्तै आज पनि कांग्रेसले लोकतन्त्र, संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्छ। बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति आज पनि मार्गदर्शक आदर्श हो,’ देउवाले भनेका छन्, ‘प्रजातन्त्र, राष्ट्रियता, समाजवाद, सामाजिक न्याय, समानता र समावेशिता कांग्रेसका प्राथमिकता हुन्। यही विश्वासका साथ म नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको आस्थामा फेरि एकपटक भरोसा दिलाउँदै बिदा हुन्छु।’

बीपी कोइरालाले २०३३ सालमा अघि सारेको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक र जीवित आदर्श रहेको उनको भनाइ छ। व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र र लोकतन्त्रलाई माथि राखेर अघि बढ्नु नै बीपीप्रतिको सच्चा सम्मान हुने देउवाले सन्देशमा उल्लेख गरेका छन्। 

उनले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासले नै मुलुकलाई सही दिशामा डोर्‍याउने विश्वास व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad