राजनीति


कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प छैन: आङ्देम्बे

कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प छैन: आङ्देम्बे

नेपालखबर
साउन ६, २०८३ बुधबार १८:४२, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बीपी कोइरालाको राजनीतिक दर्शन विभाजन नभई एकताको आधार भएको भन्दै कांग्रेसलाई थप एकताबद्ध बनाउनुपर्ने बताएका छन्।

४४औँ बीपी स्मृति दिवसको अवसरमा बुधबार चितवनमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र विचार समूह देखिनु र कार्यालय स्थापना गर्नु स्वाभाविक भए पनि त्यसले कांग्रेसको एकतालाई कमजोर बनाउन नहुने बताएका हुन्।

अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।

‘नेपाली कांग्रेस एउटा जीवन्त पार्टी हो। जीवन्त पार्टीभित्र छलफल हुन्छ। बहस हुन्छ। वादप्रतिवाद हुन्छ। महाधिवेशन नजिकिँदै गर्दा विचार समूहका आफ्नै-आफ्नै अफिस हुन सक्छन्,’ उनले भने, ‘तर समग्रमा नेपाली कांग्रेस एक भएर अहिलेको चुनौतीको सामना गरेर जानुको विकल्प हामीसँग छैन।’

उनले बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै पार्टीभित्र र बाहिर दुवैतर्फ अत्यावश्यक भएको बताएका छन्।

‘बीपीको दर्शन तोड्नका निम्ति होइन, जोड्नका निम्ति हो। पार्टीभित्र मात्रै होइन, बाहिर पनि तोड्न होइन, जोड्नका लागि हो। आज प्रत्येक कांग्रेसजनले छातीमा हात राखेर भन्नुपर्छ- हामी तोडिनका निम्ति होइन, जोडिनका निम्ति आएका हौँ,’ उनले भने।

आङ्देम्बेले सत्ता प्राप्तिको प्रतिस्पर्धामा कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाएको भन्दै चिन्ता पनि प्रकट गरे।

‘सत्ता प्राप्तिको निम्ति गरिएको प्रतिस्पर्धामा नेपाली कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गर्दाखेरी न हाँसको चाल न कागको चाल भएको जस्तो अवस्थामा रहेको भन्ने कुरा हामीले छेकेर छेक्न सकिँदैन,’ उनले भने।

उनले पार्टीको संस्थापनइतर पक्षलाई लक्षित गर्दै विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा विधान, संविधान र लोकतान्त्रिक प्रक्रियाबाट स्थापित नेतृत्व भन्दै उनलाई साथ दिनुपर्ने धारणा राखे।

‘हामी नेतृत्वको सम्मान गर्न चाहन्छौँ। अग्रजहरूको सम्मान गर्न चाहन्छौँ। तर, समयको पदचापलाई पछ्याउँदै अब नयाँ पुस्ता पनि त्यही बेगमा कुद्नुपर्छ,’ उनले भने, ‘विधानले चिनेको, संविधानले चिनेको र लोकतान्त्रिक प्रक्रियाले स्थापित नेतृत्वलाई थप बलियो बनाउँदै कांग्रेसलाई अझ एकताबद्ध बनाएर लैजानुपर्छ।’

उनले अग्रजहरूको अनुभव, समकालीन पुस्ताको साथ र नवयुवाको विश्वासलाई एकै ठाउँमा जोड्न सके मात्रै कांग्रेस समयसापेक्ष र सशक्त बन्न सक्ने बताए।

आङ्देम्बेले चितवन सहिदहरूको बलिदानको भूमि भएको स्मरण गर्दै लोकतन्त्रको रक्षा सामूहिक प्रयासबाट मात्रै सम्भव हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad