चिसो पुसको २१ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।द्वारा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘बृहत् राजनीतिक समायोजन’ समारोह। जहाँ एकातिर थियो- सभापति रवि लामिछानेको पूर्णकदको पोस्टर अनि अर्कातिर प्रफुल्ल मुद्रामा थिए- स्वयं रवि।
काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) लाई सम्भावित प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी पार्टीमा भित्र्याउने सहमतिपछि आयोजित त्यस समारोहमा लामिछानेले उपसभापति डा. स्वर्मिम वाग्लेलाई ‘आगामी अर्थमन्त्री’ घोषणा गरिदिए।
अनि भने, ‘देशभरबाट जुन उत्साह र ऊर्जा रास्वपाप्रति देखिएको छ, त्यसलाई हेरेर यतिचाहिँ भन्न सक्छु- डाक्टर सा’ब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्। नेताका रूपमा, पार्टीका रूपमा हामीले के गर्नुपर्छ, हामी गर्छौँ। आफ्नो स्वार्थलाई होइन, देशको स्वार्थलाई अगाडि राखेर हामी काम गर्छौँ।’
अर्थशास्त्री डा. वाग्ले योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन्। अमेरिकाको हार्वड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका वाग्ले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा सदस्यका रूपमा योजना आयोग छिरेका थिए।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनअघिसम्म उनी नेपाली कांग्रेसको घोषणापत्र लेख्दै थिए। तर, चितवनमा उम्मेदवार बन्ने आकांक्षा राखेका वाग्लेलाई कांग्रेसले टिकट दिएन।
भनिन्छ- उनी कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा समूहको कोपभाजनमा परे। त्यसपछि उनी विरक्तिए। तत्कालीन महामन्त्री गगन थापाले अन्तिमसम्म पनि स्वर्णिमलाई टिकाउने प्रयास गरे तर सफल हुन सकेनन्।
अन्ततः स्वर्णिमले २०७९ चैत १६ गते फेसबुकमार्फत कांग्रेसबाट अलग भएको घोषणा गरे। जतिबेला २०७९ को चुनावअघि मात्र उदाएको रास्वपा संसद्मा चौथो शक्ति बनाइसकेको थियो भने एक महिनापछि २०८० वैशाख १० गते रिक्त केही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै थियो।
अत: कांग्रेस छाडेकै दिन वाग्ले तनहुँ-१ मा रास्वपा उम्मेदवार बन्ने पक्का भइसकेको थियो। यद्यपि उनी २०७९ चैत २० गते औपचारिक रूपमा रास्वपाको साधारण सदस्य बने।
रास्वपा प्रवेशपछि पहिलो पत्रकार सम्मेलनमा वाग्लेले भनेका थिए, ‘म रास्वपाको साधारण सदस्यका रूपमा यहाँ उपस्थित छु। पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ।’
हो, पत्रकार सम्मेलनमा उनले महत्वाकांक्षा लुकाएनन्। लगत्तै रास्वपाले उनलाई उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ मा उम्मेदवार बनायो। नभन्दै उनी भारी मतले विजयी पनि भए।
वाग्लेले ३४ हजार ४८० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत ल्याए। नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले भने ८ हजार ५५५ मतमा खुम्चिए।
तर सांसदका रूपमा स्वर्णिमले पूरा कार्यकाल बिताउन पाएनन्।
यसैबिच उनी आउँदो फागुन २१ मा हुने चुनावमा पनि तनहुँबाटै फेरि चुनावी मैदानमा छन्। उनीप्रति सभापति रविको कति भरोसा छ भन्ने कुरा त उनलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेबाटै थाहा हुन्छ।
दोस्रोपटक चुनावी मैदानमा उत्रिँदा पनि उनीसँग प्रतिस्पर्धाका निम्ति कांग्रेसबाट गोविन्द भट्टराई नै अघि सरेका छन्। अघिल्लो चुनावमा कांग्रेसको प्रचार कमान्डर बनेका गगन थापा यतिबेला सभापति छन्।
गगनकै हस्ताक्षरको टिकट लिएर चुनावी मैदानमा उत्रिएका भट्टराईलाई यसअघि नै चुनाव जिते मन्त्री पक्का भनिएको छ।
भुइँमान्छे र पानीमान्छेको उपमा पाएका गोविन्दसँग शालीनताको गहना छ। अहिलेसम्म कुनै काण्डमा परेका छैनन्।
तनहुँको व्यासमा जन्मेका र २०५४ सालमा नेपाल विद्यार्थी संघको सभापति हुँदा नै भ्रष्टाचारविरुद्ध अभियान छेडेको विरासत पनि उनीसँग छ। अघिल्लो चुनाव के कारणले हारेँ भन्ने बुझेका भट्टराई यतिबेला तनहुँका मतदातामाझमै छन्।
तनहुँ १ कांग्रेसको गढ हो। बहुदलपछि २०४८, ०५१ र २०५६ मा भएका चुनाव र २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचन सबैमा कांग्रेस विजयी भएको थियो।
तर २०७४ सालको चुनावमा अहिले राष्ट्रपति रहेका तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल हारे। उनलाई त्यो बेला वाम गठबन्धनका नेता कृष्णकुमार (किसान) श्रेष्ठले हराएका थिए। किसान यतिबेला एकीकृत समाजवादी छाडेर एमालेमै फर्किएका छन्। तर उनी अहिले तनहुँको चुनावी मैदानमा छैनन्।
२०७९ को चुनावमा रामचन्द्र पुनः उम्मेदवार बन्दा उनीविरुद्ध माओवादीसहितको गठबन्धन थियो। तर पौडेलले एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले हराए।
कांग्रेस उम्मेदवार पौडेल २५ हजार ३६१ मतका साथ विजयी हुँदा पराजित एमालेका रानामगरले १९ हजार ९८१ मत ल्याएका थिए। अनि कांग्रेसका बागी उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याउँदा रास्वपाका विकास सिग्देलका पक्षमा ६ हजार ४४ मत खसेका थिए।
त्यही ६ हजार ४४ मतको जगमा उभिएका छन्- रास्वपा उपसभापति स्वर्णिम। अघिल्लो चुनावी परिणाम हेर्दा अहिले पनि उनीसँगै प्रतिस्पर्धा हुनेमा विश्वस्त छन्- कांग्रेस उम्मेदवार गोविन्द भट्टराई।
अघिल्लो चुनावमा स्वर्णिम विजयी हुँदा भेटेरै बधाई दिएका भट्टराईसहित अहिले तनहुँ १ मा कुल १२ जना उम्मेदवार छन्।
अघिल्लो चुनावमा तेस्रो बनेको एमालेले तनहुँ १ मा यसपटक केन्द्रीय सदस्य भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ। राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिनै लाग्दा एमालेले उनलाई राजीनामा गर्न लगाएर त्यहाँ उठाएको हो।
तनहुँकै भानु-८ निवासी न्यौपानेसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेको अनुभव पनि छ। अखिलबाट राजनीति सुरु गरेकी न्यौपाने २०७४ सालको चुनावमा चाहिँ एमालेबाट भानु नगरपालिकाकै मेयर पदकी उम्मेदवार बनेकी थिइन्। तर उनी कांग्रेसका उदयराज गौलीसँग हारिन्।
तथापि लगत्तै उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइन्। अनि यसको कार्यकाल सकिनै लाग्दा प्रतिनिधि सभा निर्वाचन लड्ने टिकट पाइन्। अघिल्लो पटकको संसदीय चुनावमा एमाले विभाजित थियो र सोही क्षेत्रबाट रामचन्द्रलाई हराएका किसान श्रेष्ठ एकीकृत समाजवादीमा थिए।
अहिले भने तनहुँ १ मा राम्रो प्रभाव रहेका किसान एमालेमै छन्। अत: उनले हिजो रामचन्द्रका लागि मागेको मत आज भगवतीकै पोल्टामा पर्ने एमालेको विश्लेषण छ। यस्तै अघिल्लो चुनावमा प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाललाई लागेजस्तो टुरिस्ट उम्मेदवारको ट्याग पनि न्यौपानेलाई लाग्ने छैन। उता स्वर्णिम भने यो आरोपबाट मुक्त छैनन्, भलै रास्वपाका नेताले अस्वीकार किन नगरून्।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यानाथ ढकाललाई अगाडि सारेको छ। उनी एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका पुराना वामपन्थी नेता हुन्। भानु नगरपालिका-४ निवासी ढकाल २०७९ मा प्रदेशसभा १ को (ख) क्षेत्रबाट उम्मेदवार बनेका थिए।
यो क्षेत्रमा व्यास नगरपालिकासहित भानु नगरपालिका, आबुखैरेनी, देवघाट र बन्दीपुर गाउँपालिकाका ४२ वटा वडा पर्छन्। तीमध्ये आँबुखैरेनी र बन्दीपुर हिजाको माओवादी केन्द्रको पकड क्षेत्र हो भने भानुमा पनि ऊ कमजोर छैन।
यसपटक आफ्नै उम्मेदवार भएकाले तत्कालीन माओवादी र एकीकृत समाजवादीको मत बाँडिने छैन र त्यसको असर स्वर्णिमलाई पर्न सक्ने सम्भावना छ।
तनहुँ १ मा उज्यालो नेपाल पार्टीले भने व्यास-११ निवासी मञ्जिल रानालाई उम्मेदवार बनाएको छ। यस्तै यहाँ कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले पनि स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्।
तनहुँ-१ मा राम्रै पकड बनाएका दीपक यसअघिको चुनावमा भने व्यासको मेयर पदका प्रतिस्पर्धी थिए। उनलाई कांग्रेसका वैकुण्ठ न्यौपानेले २५२ मतान्तरले मात्र जितेका थिए। वैकुण्ठले १२ हजार ७८ मत पाउँदा एमालेसँग तालमेल गरेका दीपकराज जोशीले ११ हजार ८२६ मत ल्याएका थिए।
बागी कांग्रेसको छवि बनाएका गोविन्दराजले यसपटक कांग्रेसको भोट कति काट्छन् भन्ने थाहा पाउन भने चुनावी परिणाम नै पर्खिनुपर्ने हुन्छ। तर पटकपटक गाउँघर पुगिरहेका गोविन्दका पक्षमा सहानुभूति मत प्राप्त हुनेमा कांग्रेस विश्वस्त छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले तनहुँ १ मा रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ भने हर्क सम्पाङको श्रम संस्कृति पार्टीले काशीराम गुरुङ उठाएको छ।
यस्तै यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ओमविक्रम पन्त, आम जनता पार्टीबाट चिजामाया अधिकारी, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीबाट रामलक्ष्मी दुवाल, नेसनल रिपब्लिक नेपालबाट सुमन थापा पनि चुनावी मैदानमा छन्।
यसैगरी तनहुँ १ मा लेखनाथ खनाल र सन्देश रानाभाट लौडारीले पनि स्वतन्त्र उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। तनहुँ-१ मा १ लाख २६ हजार ८ सय ८२ मतदाता छन्।
Shares

प्रतिक्रिया