जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको जग नष्ट नगर्न सरकारलाई सचेत गराएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् संविधानसम्बन्धी बहसबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले राजनीतिक दल र सरकारलाई संविधानका मूल चरित्र नभत्काउन सचेत गराएका हुन्।
उनले क्षणिक राजनीतिक स्वार्थका लागि संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताजस्ता विषय चलाउन खोजे मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्तितर्फ धकेलिने चेतावनी दिएका छन्।
यदि त्यसो गरिए अग्रगामी परिवर्तनका पक्षधरहरूबाट त्यसको सशक्त प्रतिरोध हुने अध्यक्ष यादवले बताएका छन्।
‘संविधानका यस्ता प्रावधानहरूलाई सामान्य राजनीतिक बहुमतको आधारमा परिवर्तन गर्न नदिने उद्देश्यले असंशोधनीय बनाइएका हुन्छन्,’ उनले भनेका छन्, ‘यसले संविधानलाई क्षणिक राजनीतिक स्वार्थभन्दा माथि राखेर राष्ट्रको दीर्घकालीन हित सुरक्षित गर्न मद्दत गर्छ।’
उनले संविधानको मूल चरित्रलाई नष्ट गर्ने नभई संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नका लागि मात्र संविधान संशोधन हुनुपर्ने यादवको भनाइ छ।
उनले संशोधनका लागि संघियताको प्रभावकारी कार्यान्वयन गर्न शासकीय स्वरूप र संघीय शासन प्रणालीको सिद्धान्तअनुरूपको सुधार, न्यायोचित प्रतिनिधित्व गर्न समान जनसंख्याका आधारमा संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) तथा प्रदेश सभामा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने सुझाव दिएका छन्।
Shares

प्रतिक्रिया