राजनीति


उपकुलपति नियुक्त गर्दै प्रधानमन्त्री, त्रिविमा थापालाई ल्याउने तयारी

उपकुलपति नियुक्त गर्दै प्रधानमन्त्री, त्रिविमा थापालाई ल्याउने तयारी

प्रा.डा. भोला थापा।


प्रज्ञा तिम्सिना
असार १९, २०८३ शुक्रबार १५:३१, काठमाडौँ

देशका आठ वटै विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आजै उपकुलपति नियुक्त गर्ने तयारी गरेको जनाइएको छ। 

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहले आज उपकुलपति नियुक्त गर्ने गरी तयारी गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए। ‘कुनै समस्या आएन भने आजै प्रधानमन्त्रीले उपकुलपति नियुक्ति गर्ने तयारी छ,’ उनले नेपालखबरलाई भने।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित समितिले आठ वटा विश्वविद्यालयका उपकुलपतिका लागि २४ जनाको नाम सिफारिस गरेको थियो। समितिले बुधबारै प्रधानमन्त्री शाहलाई नाम बुझाएको थियो। 

समितिले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयकालागि  तीन-तीन जनाको नाम सिफारिश गरेको हो। त्यही सूचीमध्ये प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नेछन्। 

शिक्षामन्त्री पोखरेल नेतृत्वको समितिले त्रिविको उपकुलपतिका लागि प्रा.डा. नन्दबहादुर सिंह, प्रा.डा. भोला थापा र प्रा.डा. दुर्गादत्त पौडेलको नाम सिफारिश गरेको छ। प्रा.डा. सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति हुन्। 

त्यस्तै, डा. थापा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति हुन् भने प्रा.डा. पौडेल अमेरिकाको युनिभर्सिटी अफ लुसियामा कार्यरत छन्। 

उनीहरूमध्ये प्रा.डा. थापालाई त्रिविको उपकुलपति नियुक्त गर्न प्रधानमन्त्री शाह तयार भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए। ‘प्रधानमन्त्रीज्यूले प्रा.डा. भोला थापालाई उपकुलपति नियुक्त गर्ने कुरा गर्नु भएको छ,’ उनले भने, ‘केही गडबड भएन भने आज साँझसम्म थापा उपकुलपति नियुक्त हुनुहुन्छ।’

काठमाडौँ विश्वविद्यालयको नेतृत्व गरेको भएकाले पनि प्रधानमन्त्री शाह प्रा.डा. थापाप्रति सकारात्मक बनेको जनाइएको छ। 

सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिलाई हटाएको थियो। त्यसपछि गत वैसाख २५ गते आवेदन माग गरिएको थियो।

जसमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ र मध्यपश्चिम विश्वविद्यालयका लागि २० जनाले आवेदन दिएका थिए। त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ जनाले आवेदन दिएका थिए।

आठ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको थियो। आवेदन परेकामध्ये १०-१० जनाको नाम ‘सर्ट लिस्ट’ मा राखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad