नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा इतर पक्षका नेता छलफलमा जुटेका छन्।
शुक्रबार अपराह्न काठमाडौको गल्फुटारस्थित खड्का निवासमा इतर पक्षका नेता भेला भएका हुन्। छलफलमा पूर्वसपभाति शेरबहादुर देउवा पक्षका शीर्षनेता सहभागी रहेको जनाइएको छ।

बैठकमा खड्कासँगै नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र महालक्ष्मी उपाध्याय ‘डिना’ लगायत सहभागी छन्। यसैगरी, पूर्वगृहमन्त्री रमेश लेखक, नेताहरू डा. प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरे पनि सहभागी रहेका छन्।
कांग्रेसको आन्तरिक विवादबारे छलफल गर्न नेताहरू भेला भएको जनाइएको छ। यससँगै १५औँ महाधिवेशनका विषयमा पनि छलफल हुने जनाइएको छ।

यस बैठकलाई आगामी महाधिवेशनको समानान्तर तयारीका रुपमा पनि हेरिएको छ। कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६–१९ गते गर्ने तय भएको छ।
यसअघि देउवा पक्षका नेताहरूले प्रदेश भेला गरेका थिए। सातै प्रदेशमा भेला सम्पन्न भएपछि आज केन्द्रमा छलफलमा जुटेका हुन्।

Shares

प्रतिक्रिया