राजनीति


राजा वीरेन्द्रसँग ओलीको रिहाइ माग गरेका 'प्यासी' मदन भण्डारीको जन्मजयन्ती मनाउने समितिमा बसेपछि

राजा वीरेन्द्रसँग ओलीको रिहाइ माग गरेका 'प्यासी' मदन भण्डारीको जन्मजयन्ती मनाउने समितिमा बसेपछि

केपी शर्मा ओली र सोमनाथ अधिकारी ‘प्यासी’ (फाइल फोटो)


वाशुदेव मिश्र
मंसिर २७, २०८२ शनिबार १६:२९, पोखरा

आज मंसिर २७ देखि एघारौँ महाधिवेशनमा होमिएको नेकपा एमालेले आउँदो फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लेला कि नलेला? अझै अन्योल छ। 

किनभने उसले एकातिर प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा निवेदन हालेको छ भने अर्कातिर चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता पनि गराएको छ।

आजै सुरु पार्टीको महाधिवेशनमा पनि नेतृत्व चयनका निम्ति बाकस थापिन्छ कि थापिँदैन भन्ने प्रश्न हरेक एमाले नेता/कार्यकर्ताको मनमा छ।

नेतृत्वमा चुनौती दिन कम्मर कसेर लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको जोडबलमा चुनाव भइहाले पनि नतिजा अध्यक्ष केपी ओलीले चाहेजस्तै आउनेमा एमाले पंक्ति मात्र होइन, राजनीतिक विश्लेषकहरू पनि सहमतजस्तै छन्। 

भक्तपुरको गुन्डुस्थित ओली निवासमा अध्यक्ष भेट्न लाइन लाग्नेहरूको कुरा पत्याउने हो भने ओली र उनका भित्रियाहरूको चाहनाबिना पदाधिकारी त के केन्द्रीय सदस्य बन्न पनि मुस्किल छ। त्यसैले केही दिनयता गुन्डुमा ओलीको आशीर्वाद लिनेहरूको तँछाडमछाड छ।

‘अहिले अध्यक्ष कमरेडलाई भेटिएन भने, सामाजिक सञ्जालमा फोटो हालिएन भने बहिष्करणमा पर्ने सम्भावना ज्यादा छ, त्यसैले म पनि च्यानल मिलाएर भेट्ने पालो पर्खेर बसेको छु’, शुक्रबार साँझ यो पंक्तिकारसँग कास्कीबाट केन्द्रीय सदस्यका आकांक्षी एक नेताले भने,‘आफैँ बलबुताले प्रतिस्पर्धामा उत्रन्छु भन्ने दिन सकिएजस्तै भएको छ। के गर्नु?’

उनले ओलीलाई भेट्न पाए/पाएनन्? महाधिवेशन उद्घाटनका दिन सोधिएन।

तर अहिलेका सर्वशक्तिमान अध्यक्ष ओली जेलमै हुँदा तत्कालीन राजा वीरेन्द्रसँग ‘बिनासर्त ओलीको रिहाइ’ माग गर्ने कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’चाहिँ पद माग्न गुन्डु नजाने सोचमा रहेछन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्या भण्डारीको संरक्षकत्वमा गठित समितिका सल्लाकार उनीसँग अहिले संस्थापन पक्षका नेताहरू टाढिएका छन्।

भेटे पनि दाग लाग्छ कि भनेजसरी कास्कीका उनकै चेलाहरू पनि उज्यालोमा भेट्न डराइरहेका छन्। 

‘प्यासी’को वर्तमान परिचय एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हो। अमृतकुमार बोहोरा नेतृत्वको सल्लाहकार परिषद्‌मा रहेका उनी जारी महाधिवेशनका प्रतिनिधि पनि हुन्। यद्यपि राजनीतिमा भने उनी केही कुरामा केपी ओलीभन्दा पनि अग्ला छन्।

हाल एमाले अध्यक्ष रहेका ओलीले मालेको सदस्यता लिनुअगावै रगतले ल्याप्चे ठोकेका प्यासीहरूले भूमिगत संगठन निर्माण थाले। सत्ता विप्लव चाहने उनीहरूले २०२५ जेठ ३० गते नेकपा मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल (गण्डकी-धौलागिरि) गठन गरे।

दाजु रामचन्द्र अधिकारी, पर्वतका  कृष्णप्रसाद भट्टराई र सोमबहादुर बोगटी अनि कास्की हेम्जाकै जयप्रसाद बास्तोला, कास्की हंसपुरका पुष्पकमल सुवेदी, पोखरा सराङकोटका मोदनाथ रेग्मी, अमरनाथ सुवेदी, गोपालनन्दन गिरी, जयप्रकाश बास्तोलासँगै प्यासी पनि भूमिगत संगठन निर्माणमा होमिए। पढाउन म्याग्दीको दोबा गए। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भीमप्रसाद गौचनविरुद्ध जेहाद छेडे। तीन वर्ष जेल परे।

तत्कालीन मालेले पञ्चायतको चुनावलाई उपयोग गर्ने नीति पारित गर्‍यो। पञ्चायतभित्रै पसेर पञ्चायतलाई नै कमजोर पार्ने रणनीति अनुसार २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा तत्कालीन मालेले देशका ३२ जिल्लामा आफ्ना उम्मेदवार खडा गर्‍यो।

तीमध्ये काठमाडौँबाट पद्यरत्न तुलाधर, चितवनबाट जागृतप्रसाद भेटवाल, झापाबाट द्रोण आचार्य र इलामबाट नोबल केबी राईसँगै कास्कीबाट सोमनाथ प्यासी पनि विजयी भए।

२०४३ वैशाख २९ गते भएको निर्वाचनमा प्यासीको चुनाव चिह्न बाल्टिन थियो।

पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत रहेका, होचो कद तर बोल्न माहिर प्यासीको बाल्टिनमा कास्कीका जनताले भोट खन्याइदिए। उनले त्यो बेला ३४ हजार ९ सय मत पाए।

त्यो मत दोस्रो हुने उत्तम पुनभन्दा ९ हजार बढी थियो। बाँकी उम्मेदवारले कति मत ल्याए, प्यासीलाई हेक्का छैन। उत्तम पनि राष्ट्रिय पञ्चायत पुगेपछि राजाले लक्ष्यबहादुर गुरुङलाई मनोनयन गरे।

त्यो चुनावमा अहिलेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार बनेका थिए। लमजुङबाट चाहिँ कांग्रेसी नेता लेखनाथ अधिकारीले चुनाव जितेका थिए।

राष्ट्रिय पञ्चायतमा पुगेपछि प्यासीसहित जागृतप्रसाद, पद्यरत्न तुधाधरहरूले पञ्चायतविरुद्ध धुँवाधार भाषण गर्न थाले। 

म्याग्दीका भीमप्रसाद पनि राष्ट्रिय पञ्चायतमै थिए। उनले आफूविरुद्ध अभियान चलाएका प्सासीलाई लक्ष्य गर्दै भने, ‘यहाँ (राष्ट्रिय पञ्चायतमा) रक्तबीजहरू चुनाव जितेर आएका छन्।’ 

प्यासी पनि के कम! उनले भीमप्रसादले गरेका गलत क्रियाकलाप समेटिएको र आफैँले सीडीओबाट कब्जा गरेको पहेँलो डायरी देखाउँदै भने, ‘चरेस बेच्न पाइनँ भनेर यस्तो भन्ने? मेरो अनुहारमा आँखा जुधाएर हेर्ने ताकत कसैसँग छ?’

प्यासी त्यत्तिमै रोकिएनन्।

लामो समयदेखि कास्की कारागारमा रहेका आफ्ना नेता केपी ओलीको बिनासर्त रिहाइका लागि उनलेे राष्ट्रिय पञ्चायतमै आवाज उठाए। 

‘केपी ओलीजस्ता राजनीतिक व्यक्तिलाई जेलमा राखेर प्रजातन्त्र छ भन्नु हास्यास्पद हुन्छ भन्ने कुरा मैले राष्ट्रिय पञ्चायतमा पहिलोपटक उठाएको हुँ’, प्यासीले ती दिन सम्झिँदै नेपालखबरसँग भने, ‘राष्ट्रिय पञ्चायतमा मैले बोलेको रेकर्ड अहिले पनि होला।’

पञ्चायतको बदनाम गर्न प्यासीहरू दिनहुँजसो सदनमा कडा भाषण गर्थे। राजाले त्यो कुरा थाहा नपाउने कुरै भएन। यसै क्रममा २०४४ सालतिर उनलाई दरबारले बोलायो। प्यासी बिहानको खाजा खानेगरी नारायणहिटी छिरे।

‘शिक्षामन्त्री खाऊ’ भन्दै तत्कालीन राजा वीरेन्द्रले गरेको आग्रह लत्याउँदै उनले त्यो बेला पनि केपी ओलीसहितका राजबन्दीको रिहाइको सर्त अगाडि सारे। 

‘मैले राष्ट्रिय पञ्चायतमा बोलेको क्यासेट लगेर दरबारले सुनेछ। राजाले मलाई तिमी विद्वान् रहेछौ, शिक्षामन्त्री खाऊ भने’, त्यो भेट सम्झिँदै प्यासीले भने,‘कतिसम्म भने मेरो श्रीमतीलाई पनि बोलाएर रानी ऐश्वर्यले तिम्रो श्रीमान्‌लाई मन्त्रीमा मनाऊ र तिमी मन्त्राणी बन भनिछन्।’

प्यासीले चाहिँ राजालाई ‘देशमा प्रजातन्त्र छ भने प्रजातन्त्र भएको सिस्टममा केपी ओली, मोहनचन्द्र अधिकारीलगायतका मान्छे थुनामा हुँदैनन्। सयौँले व्यवस्थाकै विरुद्ध बोलेको अभियोगमा ज्यान गुमाउन पर्दैन’ भन्ने जवाफ फर्काए रे!

मैले बकाइदाका साथ राजासँग २/३ सय राजनीतिक व्यक्तित्व जेलमा हुनुहुन्छ। सयौँले मृत्युवरण गर्नुपरेको छ। त्यस्तो प्रजातन्त्र हुन्छ? केपी ओलीजस्ता मान्छेलाई जेलबाट निकाल्नुपर्छ भनेँ’, प्यासी सुनाउँछन्, ‘मैले जेलमा रहेका माले र कांग्रेसका राजबन्दी अनि पञ्चायतकालमा सहिद भएकाहरूको नाम टिपेर लगेको थिएँ, राजालाई त्यो पनि बुझाइदिएँ।’

तर राजा सुनेर मात्र बसेको उनी सम्झिन्छन्। 

पञ्चायतमा पनि चुनाव लडेका प्यासी अहिले पनि चुनावकै पक्षधर हुन्। राजनीतिक दल निर्वाचनदेखि भाग्न हुन्न र त्यसको उपयोग गर्नुपर्छ भन्ने कुरा हिजो आफूहरूले नै प्रमाणित गरेको उनी बताउँछन्। 

‘हामीले त्यहाँ (राष्ट्रिय पञ्चायत) पुगेर पञ्चायतलाई नै कमजोर बनायौँ। राजाले घुँडा टेके नि! मैले ३ वर्षे राष्ट्रिय पञ्चायत सदस्य भएर जे बोलेँ, त्यो स्वतन्त्रताका निम्ति थियो’, उनले भने।

२०४६ सालको राजनीतिक परिवर्तनपछि अहिलेका एमाले अध्यक्ष ओलीसहितका नेताहरू जेलबाट छुटे। २०३४ सालतिर नेकपा मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल (गण्डकी-धौलागिरि) लाई  विधिवत् रूपले मालेमा मिसाउने हस्ताक्षरकर्ता प्यासीको अहिलेको भूमिका चाहिँ खुम्चिएको छ।

२००७ पुस २२ गते जन्मेका प्यासीलाई ओलीले नै प्रदेश १ (हाल कोसी) को प्रदेश प्रमुख नियुक्त गरेका थिए। तर उनको कार्यकाल २ वर्ष ५ दिनको मात्र रह्यो।

तर प्यासी त्यो पद आफूले मागेको नभएर कसैले दिएको भन्न रुचाउँछन्।

‘मलाई जिम्मेवारी दिए जुनसुकै पद चलाउन सक्छु। तर, मलाई यस्तो बनाइदिनुहोस् भनेर आजसम्म कतै गएको छैन। केपी कमरेडसँग कुनै पद मागेँ? यदि कसैले त्यो कुरा प्रमाणित गर्छ भने म १७ हारको माला लाइदिन्छु। प्रदेश प्रमुख कसरी दिए मलाई थाहा छैन’, उनी भन्छन्। 

आफूले प्राप्त गरेका सबै जिम्मेवारी पूरा गर्न नपाएको उनको भनाइ छ। 

‘मैले जति पद खाएँ, बहादुरीपूर्ण तरिकाले खाएको छु। विचार राखेर खाएको छु। म बसेको पदमा पूर्ण कार्यकाल बिताइनँ। जे भनेर गइयो, त्यही गरियो। २०४६ सालमा पञ्चायत गयो। हामीले जित्यौँ’, उनले भने, ‘२०४८ सालमा सांसद भएँ। गिरिजाबाबुले संसद् विघटन गर्नुभयो। त्यो पनि लामो भएन। प्रदेश प्रमुख पनि २ वर्ष ५ भएँ।’

अब के त ? 
उनी एमालेको सल्लाहकार छन्, तर सल्लाह लिनेहरू कम छन्।

उनकै पुस्ताका र एउटै भेगका वाचस्पति देवकोटा, त्रिचोलन ढकालहरूको आजकल चर्चा छैन।

मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउने समितिमा रहेपछि चाहिँ उनीहरूलाई संस्थापन विरोधीको उपमा दिइएको छ। प्यासीलाई यहाँनेर चाहिँ चित्त दुखेको छ।

‘मदन भण्डारीको जन्मजयन्ती मनाउने समितिमा सोमनाथ अधिकारी प्यासी बस्यो भनेर कसैले मलाई पछि पार्ने बुद्धि खेलाएछ भने त्यो सबैभन्दा अपराधी हो। किनभने मदन भण्डारी भनेको सोमनाथ व्यक्तिको विचारसँग सहमत हुने मान्छे हो र? उहाँ त दार्शनिक हो’, उनले भने, ‘म अप्रिय शब्दमा रुचि राख्दिनँ। जनतासँग खेलेको मान्छे हुँ।’

मदनजयन्ती मनाउनेहरू विद्या भण्डारी वा ईश्वर पोखरेल गुटका नभएर एमालेका मान्छे भएको जिकिर उनी गर्छन्। 

नेपालखबरसँगको कुराकानीमा उनले ओलीप्रति नरमभाव नै व्यक्त गरे। तर राजनीतिमा व्यक्तिभन्दा पार्टी ठूलो हुन्छ भन्ने कुरामा जोड दिए। 

‘केपी ओलीको व्यक्तिगत मान्छे हो? राजनीतिक पद लिएपछि म व्यक्तिगत हो? म मेरी श्रीमतीको मात्र व्यक्तिगत मान्छे हुँ। राजनीतिमा व्यक्तिगत रूपले प्रश्न उठाउन पाइन्छ? राजनीतिमा हरेक व्यक्तिले सामूहिक जिन्दगी बिताउँछ’, उनले भने, ‘पार्टीलाई व्यक्तिगत रूपले चलाउँछु भन्ने निष्कृष्ट सोच राख्नुहुँदैन।’

अध्यक्ष ओलीको सोच कस्तो त? 

टेलिफोनमै लामो हाँसोसहित उनले भने, ‘त्यस्तै हुनुहुन्छ (व्यक्तिवादी) भने मन मान्दैन।  प्रजातान्त्रिक हुनुहुन्छ भने मान्छौँ।’

आफ्नो सक्रिय राजनीतिबारे नि?

उनले आफू पद माग्न जाने पक्षमा नभएको दोहोर्‍याए। 

ईश्वर पोखरेल खेमामा दर्ज भएका उनले त्यताबाट चुनाव लड्ने कुरा पनि खुलाएनन्।

‘मैले कहिल्यै हार्दिनँ, कि जित्छु कि सिक्छु’ भन्ने उद्घोषसहित सामाजिक सञ्जालमा उनका शुभेच्छुकले चाहिँ पञ्चायतका दिन सम्झिँदै उनलाई शुभकामना दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad