राजनीति


संस्थापन इतर पक्षको ठहर– कांग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल

साउनभित्र राष्ट्रिय भेला
संस्थापन इतर पक्षको ठहर– कांग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल

नेपालखबर
साउन ३, २०८३ आइतबार १७:२८, काठमाडौँ

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवादहरू निष्कर्षविहीन भएपछि संस्थापन इतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ। 

आइतबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मिन विश्वकर्माले पार्टीको संस्थापन पक्षसँगको संवाद सार्थक र उपलब्धिमूलक हुन नसकेको जानकारी दिएका हुन्।

नेता विश्वकर्माकाअनुसार पार्टीभित्र एकता कायम गर्न पटक–पटक छलफल भएपनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता नदेखिँदा सहमति जुट्न सकेको छैन।

साउन महिनाभित्र काठमाडौँमा ‘राष्ट्रिय भेला’ 
कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको समूह (नियमित महाधिवेशन पक्षधर) ले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गर्दै साउन महिनाभित्र काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने घोषणा गरेको छ।

उक्त समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्वले एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएको छ।

पार्टी नेतृत्व (सानेपा कार्यालय)मा अधिकार केन्द्रित रहेको र त्यहाँबाट समस्या समाधानका लागि पर्याप्त धैर्यता, सहनशीलता र तत्परता प्रदर्शन नगरिएको आरोप इतर पक्षले लगाएको छ। संवादहीनताको अवस्था लम्बिँदै गएकाले अब अलमलमा नबसी नयाँ ढङ्गले अगाडि बढ्न राष्ट्रिय भेलाको विकल्प रोजिएको उनले प्रष्ट पारे।

उनले भने, ‘झगडा कहिले अन्त्य हुन्छ भन्ने निश्चित हुँदैन, तर मेलमिलापको आशा भने सधैं रहन्छ। यही विश्वासका साथ वार्ता र छलफल निरन्तर भइरहेका छन्। तर आजसम्म ती छलफल सार्थक र उपलब्धिमूलक हुन सकेका छैनन्। त्यसैले एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षमा हामी पुगेका छौँ। अब केवल प्रतीक्षामा नबसी नयाँ कार्यदिशातर्फ अघि बढ्न राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेका छौँ।’
उनले थपे, ‘यद्यपि, बीपी स्मृति दिवस भने विगतझैँ निरन्तर मनाइनेछ। हाल हामी सम्पर्क कार्यालयबाट गतिविधि सञ्चालन गरिरहेका छौँ र यसलाई निरन्तरता दिनेछौँ। तर सानेपास्थित पार्टी कार्यालय नेतृत्वबाट आवश्यक लचकता, धैर्यता, सहनशीलता र सकारात्मक पहल नदेखिएकै कारण एकताको प्रक्रिया कमजोर बनेको हाम्रो निष्कर्ष छ।’

हाल सम्पर्क कार्यालयमार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेको यो समूहले आफ्ना एजेण्डाहरूलाई थप सशक्त रूपमा अगाडि बढाउने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad