गएको माघ १७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भनेकी थिइन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो। सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ। म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको होइन। कमाउँछु भनेर बसेको होइन। समुदायको हितमा काम गर्न सकिनँ, अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु।’
नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रदेश परिषद्मा उनले बोलेका कुरालाई धेरैले पत्याएनन्।
हुन पनि नेपालको राजनीतिमा पाएको पद कसले पो छाडेको छ र? विद्या ‘अपवाद’ बन्छिन् भन्ने कल्पना नगर्नु अस्वाभाविक थिएन।
तर, उनै विद्याले शिक्षा विधेयक एवं शिक्षक आन्दोलनको पिरलोले थिचिएकै अवस्थामा मन्त्री पदबाट राजीनामा दिएकी छन्। संयोग नै भनौँ, माघ १७ गते जसको अगाडि उनले राजीनामा दिने सुनाएकी थिइन्, अहिले त्यही संगठन उनीविरुद्ध सडकमा छ।
उनको सचिवालयका एक सदस्यका अनुसार मन्त्रीको सपथ लिँदा पनि उनले भनेको कुरा ठ्याक्कै त्यही थियो।
‘काम गर्न नसके राजीनामा दिन्छु भनेर उहाँले भन्नुभएकै थियो, अहिले उहाँले आफ्नो वचन पूरा गर्नुभएको हो,’ उनीनिकट स्रोतले भन्यो, ‘बाँकी कुरा त यहाँहरूले पछि थाहा पाइहाल्नुहुन्छ नि।’
विद्या भट्टराईलाई पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नीका रूपमा सम्झनेहरू धेरै छन्। तर, विद्या असल गृहिणी र आमा मात्र थिइनन्। राजनीतिक चेतले भरिएकी प्राज्ञ पनि थिइन्। २०२९ सालमा काठमाडौँमा जन्मेकी उनी पति रवीन्द्रजस्तै १२ वर्षको उमेरमै एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा गोलबन्द भएकी थिइन्।
२०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियतमा पोखरामा सम्पन्न ११ औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित विद्या २०४८ मा १८ वर्षकै उमेर नेकपा एमाले वडा कमिटी सदस्य बनेकी थिइन् भने २०४९ मा उनी अखिलबाट पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिको उम्मेदवार पनि थिइन्।
२०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख र २०५५ सालमा केन्द्रीय सचिव बनेकी उनको २०५६ असार ६ गते एमाले नेता रवीन्द्रसँग विहे भएको थियो। त्यसपछि चाहिँ उनी पतिको सक्रिय राजनीतिक यात्राको सारथि बनिन्।
राजनीति बुझेकै थिइन् तर उनले त्यो बाटो रोजिनन्। बरु, २०५९ सालदेखि आंशिक शिक्षकका रूपमा प्राध्यापन सुरु गरिन्। महिला हिंसा अन्त्य र अधिकार रक्षाको लागि पैरवी गरिरहिन्।
२०७५ फागुन १५ गतेसम्म सबै ठीकठाक थियो। तर, एकाएक उनको जीवनमा वज्रपात भयो। पर्यटनमन्त्री भएकै बेला रवीन्द्रको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भयो। पतिवियोगको क्षणमा पनि उनी राजनीतिमा हाम फाल्ने मनस्थितिमा थिइनन्।
तर, रवीन्द्रको निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर २ का निम्ति एमालेले उनलाई नै उम्मेदवार बनायो। २०७६ भएको चुनावमा उनले कांग्रेसका पाका उम्मेदवार खेमराज पौडेललाई सहजै पराजित गरिन्। उनको संसद् यात्रा सुरु भयो। सदनमा उनले महिला अधिकारदेखि शिक्षालगायतका विषयहरू उठान गर्ने मामिलामा आफूलाई अब्बल नै सावित गरिन्।
२०७९को चुनावमा पनि एमालेले उनलाई कास्की क्षेत्र नम्बर २ बाटै उम्मेदवार बनायो। प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराललाई पराजित गरेपछि उनको दोस्रो संसद् यात्रा सुरु भयो।
दोस्रोपटक प्रत्यक्ष विजयी बनेपछि विद्यालाई मन्त्री बनाइने हल्ला स्वाभाविक थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री हुँदा उनलाई मन्त्री बनाइएन। तर, कांग्रेसको समर्थनमा ओली नै प्रधानमन्त्री बन्दा भने उनी पहिलो रोजाइमा परिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठलाई विस्थापित गर्दै उनी शिक्षामन्त्री बनिन्। लामो समय प्राध्यापन गरेकी विद्यासँग अरू मन्त्रीभन्दा बढी आशा गरिएको थियो। विश्वविद्यालयमा व्याप्त बेथिति अन्त्यको आशा पनि थियो। तर,पोखरामै हुँदा संगत गरेकी त्रिभुवन विश्वविद्यालयका कुलपति प्राडा केशरजंग बरालको राजीनामालाई उनले रोक्न सकिनन्।
राजीनामा फिर्ता गराउने कोसिस सफल भएन। शिक्षा विधेयक सदनमा पेस गर्न भरमग्दुर प्रयास गरिन् तर त्यसमा पनि सफलता हात लागेन। शिक्षकहरू सडकमा निस्कँदा समस्या समाधानको लागि प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालय धाउँदा पनि परिणाम निस्केन। र, अन्त्यमा उनी वचनमा पक्का देखिइन्। सक्दिनँ भन्ने लागेपछि खुसुक्क राजीनामा दिइन्।
राजीनामा दिनेहरूको लहरमा
विद्याले नैतिकताको आधारमा राजीनामा दिइरहँदा उनले स्वच्छ छवियुक्त नेताको परिचय बनाएकी शैलजा आचार्य र पञ्चायतकालीन शिक्षामन्त्री केशरबहादुर विष्टको पदचाप पच्छ्याएकी छन्।
शैलजाले मन्त्रिपरिषद्मा कुरा नमिलेपछि कृषिमन्त्रीबाट राजीनामा दिएकी थिइन्। उनले मन्त्रालयमा भ्रष्टाचार मौलाएको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन्। तत्कालीन शिक्षामन्त्री विष्टले चाहिँ २०४५ सालमा हावाहुरीका कारण दशरथ रंगशालामा ७१ जनाको ज्यान गएपछि नैतिकताको आधारमा राजीनामा दिँदै उच्च नैतिकता प्रदर्शन गरेका थिए।
नैतिकताकै आधारमा राजीनामा दिनेमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको पनि नाम आउँछ।
उनले सिंहदबारमा आगलागीको नैतिक जिम्मेवारी लिँदै राजीनामा बुझाएका थिए। बीपी कोइरालाले २००८ सालमा विद्यार्थी नेता चिनियाकाजीको मृत्युको नैतिक जिम्मेवारी लिँदै राजीनामा बुझाएका थिए।
विवादित अभिव्यक्ति र परिस्थितिमा राजीनामा दिनेहरूको फेहरिस्तचाहिँ लामै छ।
Shares

प्रतिक्रिया