एमाले संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर चयन भएका छन्। एमाले संसदीय दलको बिहीबार बसेको बैठकले गाहा मगरलाई मुख्य सचेतक तोकेको हो।
नवलपुर १ (ख) बाट दोस्रो पटक प्रदेश सांसद बनेका गाहा मगर मन्त्रीका आकांक्षी हुन्। एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमै मन्त्री बनाइने भनिए पनि उनी मन्त्री बन्न सकेनन्।
यसपटक भने उनी स्वयं मन्त्री पाउनेमा ढुक्क थिए। तर, संसदमा विश्वासको मत लिनुभन्दा एकदिन अगाडि मुख्यमन्त्री खगराज अधिकारीले उनलाई मुख्य सचेतकको जिम्मेवारी दिए।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने क्रममा ह्विप लगाउनुपर्ने भएकाले आफूलाई मुख्य सचेतकको जिम्मेवारी दिइएको बताउँदै उनले यो अस्थायी भएको उल्लेख गरे।
तर, एमाले स्रोतका अनुसार मुख्यमन्त्री अधिकारी अहिलेका १२ वटा मन्त्रालय घटाएर ७ मा झार्न चाहन्छन्।
‘मुख्यमन्त्रीले चाहेजस्तो भयो भने सबैलाई मन्त्री दिन नसकिने भएकाले रोशनको व्यवस्थापन गरिएको हो,’मुख्यमन्त्री अधिकारीनिकट स्रोतले भन्यो।
अहिले गण्डकी मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित एमालेकी सीता सुन्दास,माओवादी केन्द्रका हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ बिना विभागीयमन्त्रीको रुपमा रहेका छन्।
मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् बिस्तार गर्ने बताएका छन्। गण्डकीमा ८ सांसद रहेको माओवादी केन्द्रले ४ वटा मन्त्रालय मागेको छ भने २ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि दुवैजना मन्त्री बनाइनुपर्ने माग छ।
विश्वासको मत भोलि
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले भोलि शुक्रबार विश्वासको मत लिँदैछन। प्रदेशसभा सचिवालयले मंगलबार नै विश्वासको मत लिने मिति तय गरेको हो।
संविधानको धारा १६८ (२) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले सोही धाराको उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
उनले सहजै विश्वासको मत प्राप्त गर्ने अवस्था छ। उनीसँग ६० सदस्यीय प्रदेशसभामा एमालेका २२,माओवादी केन्द्रका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका दीपक मनाङेसहित ३३ जनाको मत रहेको छ।
संघमा माओवादी केन्द्रका नेता प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले यहाँ भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने÷नदिनेबारे निर्णय गरेको छैन।
सभामुखको पुस ३० र उपसभामुखको माघ २ गते चुनाव
सर्वदलीय बैठकले पुस ३० गते शनिबार सभामुख र माघ २ गते उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ।
सभामुख माओवादी केन्द्रले पाउने निश्चित छ। माओवादीको तर्फबाट गोरखा १ ‘क’ बाट चुनाव जितेका कृष्ण धिताल सभामुख बन्ने पक्काजस्तै छ।
उपसभामुख भने एमाले वा राप्रपामध्ये एउटाको भागमा पर्नेछ।
Shares

प्रतिक्रिया