राजनीति


विद्यालय सुधार गर्दागर्दै देश सुधार्न संसद् पुगेका शिशिर

विद्यालय सुधार गर्दागर्दै देश सुधार्न संसद् पुगेका शिशिर

राधिका अधिकारी
मंसिर १४ , काठमाडौँ

नेपालबाट हरेक वर्ष सयौँको संख्यामा विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश पस्छन्। आफ्ना छोराछोरी बसेको प्लेन उड्दै गर्दा आकाश हेरेर आँसु बगाउने थुप्रै बा–आमाको मनमा सन्त्रास हुन्छ, ‘मेरो सन्तान फर्केर कुनैदिन यो देशमा आउला कि नआउला?’ 

उच्च शिक्षाका लागि विदेशिनेहरु सकेसम्म उतै बस्ने प्रयास गर्छन्। तर, विदेशिएर पनि कोही घर फर्किन्छन्। त्यसैगरी फर्किनेमध्येका एक हुन् शिशिर खनाल।

शिशिरका बाबु–आमालाई पनि अध्ययनका लागि छोरो अमेरिका पठाउँदै गर्दा पीर थियो, ‘छोरो देश फर्किएर आफ्नै आँखाअगाडि बस्ला नबस्ला?’ तर उनी फर्किए। 

युनिभर्सिटी अफ विस्कन्सिनमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर सक्नेबित्तिकै उनी ‘सर्वोदय अभियान’मा जोडिए। यो २०६१ सालतिरको कुरा थियो। महात्मा गान्धीको विचारधाराबाट प्रभावित भएर सुरु गरिएको यो अभियानको उदेश्य थियो समस्याग्रस्त गाउँमा गएर सामाजिक रुपान्तरणका लागि श्रमदान गर्नु। 

त्यसैले नेपाल फर्किंदै गर्दा शिशिरले आफ्नो सुनौलो भविष्यको सपना मात्रै बोकेर ल्याएका थिएनन्। यही अभियानसँग जोडिएर शिशिरको टिमले देशका विभिन्न क्षेत्रका विद्यालगमा रङ लगायो, पुस्तकालय स्थापना गर्यो, कतै स्कुल निर्माणमा श्रमदान गर्यो। श्रमदानका लागि फिल्डमा निस्किएको शिशिरको टिमलाई त्यतिबेला कच्चा पदार्थ किन्न पैसा हुँदैनथ्यो। शिशिरको टिमले भाटभटेनीमा ‘कार वास सेन्टर’ चलायो। उनीहरुले पानी पुरी बेचेर पनि आर्थिक उपार्जन गरे। अभियानका सुरुवाती दिन सजिला थिएनन्। गाउँमा पुग्दा गाउँलेहरुले सोध्थे, ‘हजुर कुन आईएनजीओबाट हो? कति पैसा आउँछ?’ शिशिरलाई यो विशुद्ध स्वयंसेवी अभियान हो भनेर बुझाउनै समय लाग्यो। 

यसरी गाउँगाउँ पुग्दा शिशिरले सामुदायिक विद्यालयको शैक्षिक स्थिति निकै दयनीय देखे। सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने अधिकांश अभिभावकको एउटै चाहना हुन्थ्यो, ‘हामीले त पढ्न पाएनौँ, छोराछोरीले पढ्न पढ्न पाऊन्।’

त्यसपछि ‘टिच फर नेपाल’ स्थापना भयो। जसका संस्थापक हुन् शिशिर। यो संस्थाले दुर्गमका सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि स्वयंसेवी शिक्षक उपलब्ध गराउने अभियान थाल्यो। थुप्रै शिक्षकले साथ दिएकाका कारण यो अभियान लोकप्रिय बन्न पुगेको शिशिर बिर्संदैनन्।

२०७० सालमा ‘टिच फर नेपाल’ मार्फत ललितपुरको दक्षिणी भेगका १५ वटा विद्यालयमा स्वयंसेवी शिक्षक (फेलो) पठाएर सामुदायिक विद्यालयको स्तर सुधार्ने अभियान थालेका शिशिरको यो अभियान सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ र पर्सा लगायतका जिल्लामा बिस्तार भयो। शिक्षाको नीतिगत विषयमा सुधारका लागि उनले गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएका बेला मन्त्रालयसँग जोडिएर काम गरे। 

यही क्रममा उनले देशको अवस्था बुझ्ने मौका पाए। मन्त्रालयको काम गर्ने शैली, मन्त्रालयमा काम गर्ने मानिस र काम गराउन जाने जनता सबैको अवस्था नियाले। शिशिरलाई लाग्यो, ‘यहाँ हरेक क्षेत्रमा विज्ञको खाँचो छ।’

३० वर्षदेखि एकैखालका मानिसले सम्हाल्दै आएको राजनीतिमा पुस्तान्तरणको खाँचो देखे। लामो समय व्यवस्था परिवर्तनको आन्दालनमा होमिएको नेपाली राजनीतिले अब डेलिभरी दिन थाल्नुपर्ने आवश्यकता महसुस गरे। उनलाई लाग्यो, ‘विषयगत विज्ञता भएका व्यक्ति राजनीतिमा आउनु पर्ने आवश्यकता छ। ती विज्ञहरुले राजनीतिमा आउने सही समय यही हो।’ 

उनले शिक्षा सुधारका सामाजिक संस्था र स्थानीय सरकारमा बसेर काम गर्दा शिक्षाको धरातलका विषयमा सदनमा गएर बोल्ने सपना देखे। यही सपना अनुरुप उनले सुरुमा काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका थिए। त्यहीबेला रवि लामिछानेले नेतृत्व गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आवद्ध भए र काठमाडौं ६ बाट उम्मेदवारी दिए।

उनीसँगै चुनावी मैदानमा थिए नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल। सर्वेन्द्रलाई त्यस क्षेत्रबाट एमालेले उम्मेदवार बनाएर पठाएको थियो। सँगै चुनावी प्रतिस्पर्धामा थिए, नेपाली कांग्रेसका भीमसेनदास प्रधान। राजनीतिमा नरुझेका शिशिरको यो यात्रा निकै चुनौतीपूर्ण थियो। एमाले–कांग्रेसको जस्तो बलियो संगठन थिएन। तर आँट थियो।

अन्ततः शिशिरको यही आँटले जित्यो। उनी १४ हजार २ सय ४ मत सहित निर्वाचित भए। एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत पाए भने नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८०५ मत प्राप्त गरे। जनताले दिएको यो मतसँगै सदनमै गएर सार्वजनिक शिक्षा सुधार, दिगो सहरी विकास लगायतका मुद्दामा बोल्ने र काम गर्ने शिशिरको सपना पुरा भएको छ। 

चुनावी अभियानमा रहेका बेला शिशिरले मतदाताका आँखामा ठूलो परिवर्तनको चाहना देखेका थिए। उनीहरुले त्यो परिवर्तनका लागि नेतृत्व परिवर्तन चाहिरहेका थिए। त्यसैले उनीहरुले जितको ह्याट्रिक गर्ने भन्दै मैदानमा होमिएका भीमसेनदास प्रधानलाई भोट नदिएर उनलाई दिए। यो मतको मूल्य नर्बिसने शिशिर बताउँछन्। 

चुनावी विजयलाई उनले परिवर्तनको आकांक्षाको परिणामका रुपमा हेरेका छन्। नयाँ पार्टीबाट राजनीतिका लागि नयाँ अनुहार लिएर घरदैलो गर्दैगर्दा शिशिरले पुराना दल र नेताप्रतिको ठूलो असन्तुष्टि देखेका छन्। 

उनका मतदाताले बारम्बार गुनासो गरिरहेका थिए, ‘हाम्रा नेताले हाम्रो आकांक्षा अनुसारको काम गरेनन्। जितेर गएपछि हाम्रा जनप्रतिनिधिसँग हाम्रो भेट नै भएन।’ शिशिरलाई थाहा छ, ‘आफ्ना मतदाताका मनमा मप्रति यस्तै गुनासा थुप्रिनु हुँदैन।’

उनलाई मतदाताले भनेका छन् यो देशको भ्रष्टाचार नियन्त्रण गरिदिनुहोस्। शिशिरले यो निकै चुनौतीपूर्ण देखेका छन्। 

भन्छन्, ‘तथापि हाम्रो सपना भ्रष्टाचाररहित समृद्ध नेपाल हो। हामी यसका लागि काम गर्छौँ।’ 

काठमाडौंमा ६ मा शिशिरले देखेको मुख्य समस्या बाटो र खानेपनीको हो। यो समस्या समाधानका लागि पनि दिगो योजना बनाएर काम गर्ने गर्नुपर्ने शिशिर बताउँछन्। आफ्नो क्षेत्रको उत्तरी भेगका युवामा रोजगारीको समस्या, तारकेश्वरमा राम्रो अस्पतालको खाँचो, सार्वजनिक शिक्षाको गुणस्तर लगायतका थुप्रै समस्या उनले पहिचान गरेका छन्। 

जनताको चाहना र आवश्यकता अनुसारको काम गर्ने उनको चाहना छ। तर, कसरी काम गर्ने अन्यौल अझै बाँकी रहेको उनको भनाइ छ।

मंसिर १४, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]om

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.