ad ad

मधेस


मधेस प्रदेश सरकारका तीन मन्त्री पराजित, चार जना पुनः निर्वाचित

मधेस प्रदेश सरकारका तीन मन्त्री पराजित, चार जना पुनः निर्वाचित

फाइल फोटाे


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २०:३५, काठमाडौँ

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका छन्।

मुख्यमन्त्रीसहित चार जना मन्त्रीमध्ये पुनः निर्वाचित भएका छन्। मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधनप्रसाद महतो पराजित भएका छन्।

सप्तरी क्षेत्र नम्बर २ (१) बाट चुनाव लडेका अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग पराजित भएका छन् भने भने सिरहाको क्षेत्र नम्बर २ (१) बाट चुनाव लडेका कृषिमन्त्री यादवलाई जनमत पार्टीकै सञ्जयकुमार यादवले पराजित गरेका छन्। यस्तै उद्योगमन्त्री महतोलाई नेकपा (एमाले)का हरिनारायण महतोले पराजित गरेका छन्।

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (२) बाट, कानून न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव सिरहा क्षेत्र नम्बर ३ (२) बाट र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (२) बाट पुनः निर्वाचित भएका छन्।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

धनुषा क्षेत्र नम्बर ३ र ४ बाट महासेठ दम्पती विजयी
धनुषाको दुई वटा क्षेत्रबाट नेकपा (एमाले) बाट महासेठ दम्पतीले विजयी विजय हासिल गरेका छन्। धनुषा क्षेत्र नम्बर ४ मा एमालेका सचिव रघुवीर महासेठ र क्षेत्र नम्बर ३ मा उनकी धर्मपत्नी तथा एमाले नेत्री जुलीकुमारी महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। दुवै क्षेत्रमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै महासेठ दम्पतीले संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएको हो। 

गत २०७४ सालको निर्वाचनमा महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए भने महतो समानुपातिक सूचीबाट सांसद भएका थिए। आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार महासेठले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई एक सय २४ मतान्तरले पराजित गरेका छन्।

महासेठले ३२ हजार दुई सय ३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
    
यस्तै, धनुषा क्षेत्र नम्बर ३ मा महतोले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पराजित गरेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। महतोले ३३ हजार तीन सय ८८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी झाले २३ हजार छ सय ६८ मत प्राप्त गरे। 

महासेठ दम्पतीको परिवारबाट अर्का आफन्त पनि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष जितेका छन्। जुली महतोका दाजु डा. वीरेन्द महतो सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन्। डा महतो जनता समाजवादी पार्टी (जसपा) बाट २४ हजार एक सय दुई मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद साहले १६ हजार दुई सय ९४ मत प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .