ad ad

राजनीति


प्रतिनिधिसभा निर्वाचन : माओवादी दुई, एमाले एउटा प्रदेशमा शून्य

प्रतिनिधिसभा निर्वाचन : माओवादी दुई, एमाले एउटा प्रदेशमा शून्य

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ११:२, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको १५५ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा माओवादी केन्द्र दुई र एमाले एउटा प्रदेशमा शून्य भएको छ। 

माओवादीले सुदूरपश्चिम र मधेश प्रदेशमा प्रतिनिधिसभा तर्फ एउटा पनि क्षेत्र जित्न सकेको छैन भने एमाले पनि कर्णाली प्रदेशमा शून्य भएको छ। 

सूदुरपश्चिम प्रदेशका ९ जिल्लाका १६ मध्ये माओवादीले एउटा निर्वाचन क्षेत्र पनि जित्न नसकेको हो। त्यसैगरी कर्णालीका १० जिल्लाका १२ मध्ये एमालेले एउटा निर्वाचन क्षेत्रमा पनि जित निकाल्न सकेन। 

त्यसैगरी मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये एउटा पनि क्षेत्र माओवादीले जित्न सकेको छैन। 

कर्णालीका १० जिल्लाका १२ क्षेत्रमध्ये डोल्पा, कालिकोट, रुकुम पश्चिम र जाजरकोटमा माओवादीका उम्मेदवार विजयी हुँदा कांग्रेसले मुगु, दैलेख २, सुर्खेत १ र २ मा जित निकालेको छ। 

त्यसैगरी राप्रपाले जुम्लामा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले दैलेख १, डोल्पा र सल्यानमा विजयी भएको छ। 

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये दार्चुला, डडेलधुरा, अछाम २, कञ्चनपुर २ र ३ नम्बर नम्बर क्षेत्रमा कांग्रेस र कञ्चनपुर १ मा एमाले उम्मेदवार विजयी भएका छन्। कैलालीका पाँच क्षेत्रमध्ये १, २ र ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्।

त्यसैगरी बझाङ, डोटी र अछाम १ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुँदा एमालेले बैतडी र कैलाली १ मा जित हासिल गरेको छ। बाजुरामा भने अझै मतगणना सुरु भएको छैन। 

मधेशका ८ जिल्लाका ३२ मध्ये ३१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा एमाले सबैभन्दा धेरै ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ। 

एमालेले सिरहाको क्षेत्र नम्बरा १ र ३, धनुषा ३, महोत्तरी १, सर्लाही ३, बारा १ र ३, पर्साको ३ नम्बर क्षेत्रमा जित हासिल गरेको छ।

कांगे्रसले ७ निर्वाचन क्षेत्र जित्दा जसपाले ६ क्षेत्र जितेको छ। यसैगरी लोसपा र स्वतन्त्रले ३–३ क्षेत्रमा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले २ र माओवादीको चुनाव चिह्नबाट १ जना निर्वाचित भएका छन्। त्यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीले एउटा क्षेत्रमा जित दर्ता गरेको छ। 

धनुषा क्षेत्र नम्बर ४ मा भने मतगणना सकिएको छैन। त्यहाँ कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्। 

सप्तरीको क्षेत्र नम्बर ३ र ४, धनुषा २, महोत्तरी ४, रौतहट ४ र पर्साको २ र ४ नम्बर क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। 

त्यसैगरी जसपाका उम्मेदवार सप्तरी १, सिरहा २ र ४ धनुषा १, बारा २ र पर्सा १ नम्बर क्षेत्रमा विजयी भएका छन्।

लोसपाका उम्मेदवार मधेशका ३ वटा क्षेत्रमा विजयी भएका छन्। लोसपा महोत्तरी २ र ३ तथा सर्लाही १ नम्बर क्षेत्रमा विजयी भएको हो। सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार विजयी हुँदा सर्लाही ४ र रौतहटको २ र ३ नम्बर क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

नेकपा एकीकृत समाजवादीले रौतहट १ र बारा ४ नम्बर क्षेत्रमा जित हासिल गरेको छ। माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेका एक उम्मेदवार सर्लाही २ मा विजयी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .