ad ad

राजनीति


ओलीले एमालेमा भित्र्याएका दुई गुप्ता : एकको पाँचौँ जितमा ‘ब्रेक’, अर्काको पाँचौँ प्रयास सफल

ओलीले एमालेमा भित्र्याएका दुई गुप्ता : एकको पाँचौँ जितमा ‘ब्रेक’, अर्काको पाँचौँ प्रयास सफल

अध्यक्ष ओलीले एमाले प्रवेश गराएका बेला – चस्मा लगाएका मंगल गुप्ता र रातो खादामा बृजेश गुप्ता।


सुदीप भण्डारी
मंसिर १०, २०७९ शनिबार १२:१, बुटवल

२०७८ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई जना नेतालाई पार्टीमा प्रवेश गराउन छुट्टाछुट्टै समयमा कपिलवस्तु आएका थिए।

त्यो वर्ष पुसमा कृष्णनगरमा मंगलप्रसाद गुप्तालाई पार्टीमा प्रवेश गराएका ओलीले चैतमा बृजेशकुमार गुप्तालाई भित्र्याएका थिए।

दुवैले प्रतिनिधिसभा सदस्यको चुनाव लड्न टिकट पनि पाए। एउटा गुप्ता विजयी हुँदा अर्का गुप्ता भने हारेका छन्। 

एमाले प्रवेशले बृजेशकुमार गुप्ताको जितको लामो सिलसिला रोकियो। तर मंगलप्रसाद गुप्ताको संसद् प्रवेश गर्ने दशकौं अघिदेखिको प्रयास सफल भएको छ। 

उता बृजेशकुमार गुप्ताको लगातार पाचौंपटक सांसद बन्ने प्रयास असफल भएको छ। पहिलोपटक २०५६ सालमा उनले राप्रपाबाट संसदीय चुनाव जितेका थिए। २०६४ र ०७० मा बृजेश तमलोपाबाट सभासद बनेका थिए। 

२०७४ सालको चुनावमा हृदयेश त्रिपाठीको समूहमा रहेका उनी एमालेको सूर्य चिह्न सापटी लिएर सांसद पदमा विजयी भएका थिए। पार्टीको सदस्य नभए पनि उनी आफ्नो कार्यकालभर संसदमा एमालेकै सांसदका रूपमा रहे।

हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेपछि बृजेश गत स्थानीय चुनावअघि औपचारिक रूपमा एमाले प्रवेश गरेका थिए। 

यसपटकको चुनावमा गुप्ता एमालेबाटै उम्मेदवार बने पनि लगातार सांसद बन्ने सिलसिला रोकियो। कपिलवस्तु क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका सुरेन्द्र आचार्यसँग ३१७ मतले हारे। 

उता कृष्णनगरका मंगलप्रसाद गुप्ताको सांसद बन्ने प्रयास २०४८ सालदेखिकै हो। गुप्ता राजनीतिमा अस्थिर र दल फेरिरहने नेतामा पर्छन्। 

पार्टी परिवर्तन गरेर उम्मेदवार बनिरहे पनि यसअघि उनले संसदीय चुनाव कहिले जित्न सकेका थिएनन्। तत्कालीन समयमा जिल्ला पञ्चायत सदस्य उनी प्रजातन्त्र पुनःस्थापनापछि २०४७ सालमा कांग्रेसमा प्रवेश गरेका थिए। 

२०४८ सालमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए। तर हारे। २०५६ सालमा फेरि टिकट पाए पनि संसदमा जान सकेनन्। 

पछि उनी महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरे। त्यहीबाट २०७० सालको चुनावमा उम्मेदवार बने पनि हारे। पार्टी फेरेर २०७४ सालको चुनावमा गुप्ता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट उम्मेदवार बने। तर कांग्रेसका अभिषेक प्रताप शाहसँग फेरि हारे। 

विभिन्न दल चहार्दै एमालेमा आउँदा भने उनको सांसद बन्ने धोको पूरा भएको छ। कांग्रेसका अभिषेक प्रताप शाहसँग अघिल्लो पटकको बदला लिँदै यो पटक कपिलवस्तु क्षेत्र नम्बर ३ बाट मंगलप्रसाद गुप्ता प्रतिनिधिसभा सदस्य बन्न सफल भएका छन्। सांसद बन्ने ३१ वर्षदेखिको उनको चाहना पूरा भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .