ad ad

राजनीति


चित्रबहादुर केसी : सुरुमा झस्किए, मतगणना १० हजारमाथि पुगेपछि सम्हालिए

चित्रबहादुर केसी : सुरुमा झस्किए, मतगणना १० हजारमाथि पुगेपछि सम्हालिए

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १३:३७, पाेखरा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनावी प्रचारका क्रममा नेपालखबरसँग भनेका थिए, ‘जनताले के भनून् बरा, उनीहरू समस्यामा छन्। यो दिन्छु, त्यो दिन्छु भनेर झुक्याएका रहेछन्, सभासदको विधायकी अधिकार हो भन्ने उनीहरूले कसरी बुझुन्!’

बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनावमा होमिएपछि ८२ वर्षीय चित्रबहादुर स्वयं युवा जोशसहित प्रचारमा दौडिए। डाँडापाखा गरे।

पाँचदलीय गठबन्धनको साथमा चुनावी मैदानमा आएका उनलाई एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकले टक्कर दिने थाहा थियो। उनको अभिव्यक्ति पनि सोही क्षेत्रकोे सांसद रहेका सूर्य पाठकप्रति थियो। तर, मतगणना सुरु हुँदाको परिदृश्य बदलियो।

संघीयताका ‘ज्याद्रो विरोधी’ चित्रबहादुरलाई झस्काउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले भकाभक भोट ल्याउन थाले। यो उपक्रम केही समयसम्म चलिरह्यो। तर, १० हजार २८२ मत गणना हुँदा भने चित्रबहादुर सम्हालिएका छन्। केसीले अहिले ३०८ मतले अग्रता कायम गरेका छन्। केसीको ३ हजार ८३४ मत आउँदा पाठकलले ३ हजार ६२८ मत ल्याएका छन्। दुवैको लागि टाउको दुखाइ बनेका कँडेलले २  हजार २६२ मत प्राप्त गरेका छन्। एमाले पृष्ठभूमिका कँडेलले केसीलाई जाने मत मात्र नभएर पाठकको मत पनि काटेको आकलन गरिएको छ। 

केसी आच्छुआच्छुको अवस्थामा हुँदा सोही क्षेत्रको ‘ख’ मा भने कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले झण्डै दोब्बरको अग्रता लिइरहेका छन्। उनले ६ हजार ३९२ मत प्राप्त गर्दा एमालेका नवराज पौडेलले ३ हजार ९९४ मत ल्याएका छन्। प्रदेशतर्फको ‘क’ मा भने एमालेका हीराबहादुर केसीको अग्रता छ। 

बागलुङकै क्षेत्र नम्बर २ मा भने माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल अगाडि छन्। देवेन्द्रले ५ हजार ५०४ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका मञ्जु शर्मा चालिसेले ४ हजार ३ सय मत प्राप्त गरेकी छन्। प्रदेशतर्फको ‘क’मा कांग्रेसका जितबहादुर शेरचन ६ हजार ५५७ मतले अगाडि हुँदा प्रतिस्पर्धी एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश घर्तीले ५ हजार ५३३ मत ल्याएका छन्। प्रदेश ‘ख’मा कांंग्रेसका बोर्णकुमार कुँवर ७ हजार ३१९ र उनका प्रतिस्पर्धी एमालेका लक्ष्मण पुन ४ हजार ९१४ मतसहित प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .