ad ad

राजनीति


ली क्वान युको गार्ड बसेर राजनीति सिके, फर्केपछि माओवादीबाट गाउँपालिका अध्यक्ष बने*

ली क्वान युको गार्ड बसेर राजनीति सिके, फर्केपछि माओवादीबाट गाउँपालिका अध्यक्ष बने*

सीताराम बराल
जेठ ३, २०७९ मंगलबार २३:१५, काठमाडौँ

अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा ११ सेप्टेम्बर (२००१) मा आतंकवादी हमला भएपछि विश्वभर सुरक्षा सतर्कता बढाइयो। सिङ्गापुरले पनि राष्ट्रपति कार्यालय ‘इस्ताना’ को सुरक्षा घेरालाई बलियो बनाउने निर्णय गर्यो।  

त्यसका लागि सिङ्गापुर पुलिस अन्तर्गतका गोर्खा गार्ड खटिए। यसरी खटिनेमा ब्रिटिस आर्मी हुँदै सिङ्गापुर प्रहरीको ड्युटीमा रहेका ताप्लेजुङका राजन लिम्बु पनि थिए। 

‘राष्ट्रपति र प्रधानमन्त्रीको निवासको सुरक्षाका लागि भित्री घेरामा सिङ्गापुर पुलिस अन्तर्गतका गोर्खा गार्डहरुलाई खटाइएको थियो,’ ३८ वर्षे लिम्बुले सम्झे, ‘आवश्यकता अनुसार कहिले राष्ट्रपति र प्रधानमन्त्री निवास त कहिले ठुल्ठूला ब्याङ्क र समुद्री तटको सुरक्षा जिम्मेवारीमा खटिनुपथ्र्याे।’   

सिङ्गापुर सरकारले भरोसा गरेको गोर्खा गार्डका यिनै सिपाही लिम्बुलाई ताप्लेजुङको फक्ताङलुङबासीले गाउँपालिका अध्यक्षमा भरोसा गरेर जिताएका छन्। सिङ्गापुर पुलिसमा १५ वर्षे सेवापछि पेन्सन पकाएर २०७४ चैतमा नेपाल फर्केका लिम्बु माओवादी केन्द्रको उम्मेदवारका रुपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। 

लिम्बुले एमालेको तर्फबाट उम्मेदवार रहेका निवर्तमान गाउँपालिका प्रमुख सरोज लिम्बुलाई ३ सय ४८ मतअन्तरले पराजित गरेका छन्। गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका रविन साम्रा लिम्बु विजयी भएकी छन्। 

२०७४ को स्थानीय तह निर्वाचनमा ८ सय २८ मत मात्र प्राप्त गरेको माओवादी केन्द्रबाट उम्मेदवारी दिएर लिम्बुले प्राप्त गरेको जितले जिल्लामा सबैलाई आश्चर्यमा पारिदिएको छ। 

ब्रिटिस सेना हुँदै सिङ्गापुर प्रहरीको नायक पदमा पुगेपछि २०७४ चैतमा स्वेच्छिक अवकाश लिएर नेपाल फर्केका लिम्बु जागिरे जीवनपछि मात्रै माओवादी बनेका होइनन्। उनी सिङ्गापुर प्रहरीमा कार्यरत छँदै माओवादी केन्द्रको सदस्य बनिसकेका थिए। 

शान्ति प्रक्रियमा आएको माओवादीले उनलाई लिम्बुवान मुक्ति मोर्चाको केन्द्रीय सदस्य बनाएको थियो। 

‘सिङ्गापुर पुलिसमा सेवारत रहेकाले लिम्बुवान मुक्तिमोर्चामा मेरो नाम भूमिगत थियो, मोर्चाको केन्द्रीय समितिमा म ‘मुक्ति लिम्बु’ को नामले चिनिन्थेँ,’ उनले भने, ‘सौभाग्यवश माओवादी पार्टी सम्बद्ध मुक्ति मोर्चाको केन्द्रीय सदस्य छु भन्ने कुरा सिङ्गापुर प्रहरीलाई कहिल्यै थाहा भएन।’ 

भर्खर शान्ति प्रक्रियामा आएकाले माओवादीभित्र सांगठनिक अनुशासन कडा थियो। पार्टी र संगठनका बैठकहरु भइरहन्थे। यता बैठक र अभियान चलिरहेको हुन्थ्यो, उता उनी सिङ्गापुरका महत्वपूर्ण र संवेदनशील स्थानमा सुरक्षाको जिम्मेवारीमा हुन्थे। 

अनुशासनमा कठोर हुँदाहुँदै पनि उनको जागिरको प्रकृति बुझेर लिम्बुवान मुक्तिमोर्चाले उनको हकमा छुट दिएको थियो। 

‘बैठकमा उपस्थित हुनैपर्ने प्रावधानबाट मैले छुट पाएको थिएँ, तैपनि सकभर सिङ्गापुरबाट फोनमार्फत् भए पनि बैठकमा सहभागिता जनाउथेँ,’ लिम्बुले भने, ‘छुट्टी पाएका बेला नेपाल आउथेँ र भूमिगत नामबाटै संगठनको काम गर्थें। सिङ्गापुर पुलिसमा कार्यरत छु भन्ने नेतृत्वका एकाधबाहेक अरुलाई जानकारी नभएकाले कहिल्यै अप्ठेरो परेन।’  

१५ वर्षे सेवापछि पेन्सनमा निस्कन पाइने भएपछि राजनले सिङ्गापुर पुलिसबाट २०७४ चैतमा अवकाश लिँदा नेपालमा  प्रतिनिधि सभा निर्वाचन भएको पाँच महिना मात्र पुगेको थियो। एमाले–माओवादीबीच एकता प्रक्रिया चलिरहेको थियो।

अवकाशपछि नेपाल फर्कनासाथ उनी राजनीतिमा सक्रिय भए। सुरुमा उनले माओवादीसम्बद्ध काठमाडौँ–ताप्लेजुङ गणतान्त्रिक मञ्चको कोषाध्यक्षको जिम्मेवारी पाए। त्यसबाहेक मञ्च अन्तर्गत पूर्वका १४ जिल्लाको योङ कम्युनिस्ट लिग (वाईसीएल) को १४ जिल्ला हेर्ने गरी जिम्मेवारी पनि प्राप्त गरे। 

एमाले–माओवादी केन्द्रबीच एकता भई नेकपा बन्नु अघिसम्म उनी वाईसीएलको ताप्लेजुङ इन्चार्ज बनिसकेका थिए। नेकपा बनेपछि उनी राष्ट्रिय युवासंघको जिल्ला सहइन्चार्ज बने। नेकपा विभाजनपछि उनी फेरि वाईसीएलको जिल्ला इन्चार्जमै पुनर्स्थापित भए। 

विभाजनअघि नेकपाले उनलाई फक्ताङलुङ गाउँपालिका–४ को   इन्चार्जको जिम्मेवारी दिएको थियो। उनी पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए। २०७७ पुसमा सम्पन्न माओवादी केन्द्रको एकता अधिवेशनअघि उनी फक्ताङलुङ गाउँपालिका अध्यक्ष निर्वाचित भए। 

संयोगवश गठबन्धनमा भागबण्डा हुँदा यो गाउँपालिका माओवादी केन्द्रको भागमा पर्यो।  

२०७४ को निर्वाचनमा माओवादी केन्द्र यहाँ तेस्रो स्थानमा थियो। एमालेका सरोज लिम्बु १ हजार ९९८ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनिप्रसाद लिम्बुले १ हजार ६६५ मत प्राप्त गरेका थिए।

माओवादी केन्द्रका लक्ष्मीप्रसाद लिम्बु ८ सय २८ मतमा सीमित हुँदै तेस्रो स्थानमा थिए। 

गठबन्धनमा भागबण्डा हुँदा माओवादी केन्द्रको भागमा परेपछि जिल्ला पार्टीले राजनलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्यो।

‘एक त, उहाँ सिङ्गापुर पुलिसमा काम गरेर आउनु भएको मान्छे। त्यसैले, राजनले जिम्मेवारी पायो भने भ्रष्टाचार गर्दैन भन्ने विश्वास आम जनतामा छ,’ माओवादी केन्द्रका ताप्लेजुङ इञ्चार्ज खेलप्रसाद बुढाथोकी (पराग) ले भने, ‘अर्काे कुरा, फिल्डमा पनि उहाँले जनताको बीचमा बसेर निकै राम्रोसँग काम गर्नुभयो। त्यही कारण हामीले उहाँलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनायौँ।’ 

२०७४ को निर्वाचन परिणामका आधारमा निकै कमजोर स्थितिमा रहेको यो गाउँपालिका माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसभित्र विद्रोह सुरु भयो। अध्यक्षको उम्मेदवारको आकांक्षा गरेका ताप्लेजुङका पूर्व जिल्ला उपसभापति मणि लाबुङ र कांग्रेसका गाउँपालिका सभापति भद्र बखिम कांग्रेस परित्याग गरी एमाले प्रवेश गरे। 

यसमध्ये मणि २०७४ को निर्वाचनमा पराजित अध्यक्षका उम्मेदवार हुन् भने भद्र बखिम चाहिँ राजनका आफ्नै मामा। टिकटको आकांक्षामा रहेका स्थानीय केही माओवादी नेताहरु पनि राजनले टिकट पाएपछि एमाले प्रवेश गरेको इञ्चार्ज बुढाथोकी बताउँछन्। 

‘कांग्रेसमा यति ठूलो विद्रोह भयो कि निर्वाचन परिणाम के हुन्छ, के हुन्छ भन्ने थियो’ उनले थपे, ‘एक त, पहिले पनि एमालेले जितेको गाउँपालिका हो। अर्काे, गठबन्धनमा सामेल कांग्रेस र माओवादी केन्द्रबाटै विद्रोह। गठबन्धनका बाबजुद निर्वाचन परिणाम प्रतिकूल हुने हो कि भन्ने चिन्ताले हामीलाई सताउन थाल्यो।’  

इन्चार्ज बुढाथोकीका भनाइमा मनोनयन दर्ता गरेपछि राजनले आफू र गठबन्धनको स्थिति विस्तारै अनुकूल बनाउँदै लगे। उनको विनम्र र सहयोगी व्यवहार यहाँ गठबन्धनलाई निर्वाचन परिणाम अनुकूल बनाउन सहयोगी बन्यो। 

विनम्र कति भने विजयी भएपछि मंगलबार (३ जेठ) दिउँसो जितबारे उनको प्रतिक्रिया लिन फोन गर्दा उनको फोन लामो समय व्यस्त थियो। लगातारको व्यस्तताका कारण फोन सम्पर्क नहुने भएपछि सम्पर्कको प्रयास नै छाडिएको थियो। 

तर, अपरिचित नम्बरमा मंगलबार साँझ उनी आफैँले फोन सम्पर्क गरे। उतैबाट ‘नमस्कार’ का साथ कुराकानी सुरु भयो। 

सिङ्गापुर पुलिसको भूतपूर्व लाहुरे भए पनि आफू सानैदेखि कम्युनिस्ट पार्टीप्रति आकर्षित रहेको र सिङ्गापुर पुलिसमै रहेका बेला माओवादी पार्टीमा भूमिगत रुपमा आवद्ध रहेको उनले जानकारी गराए।

तर, सिङ्गापुर पुलिसमा छँदा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीको निवास–कार्यालयको सुरक्षामा खटिँदाको अनुभव राजनीतिमा आफूलाई निकै उपयोगी भएको उनी बताउँछन्।

‘राजनीतिप्रति रुचि भएकाले होला, ली क्वान युको सुरक्षामा खटिँदा मैले राजनीतिक नेता र जनताबीच कस्तो सम्बन्ध हुनुपर्दाे रहेछ भन्ने कुरा जान्ने मौका पाएँ,’ उनले भने, ‘सिङ्गापुरका नेताहरु जनताप्रति असाध्य प्रतिबद्ध हुँदा रहेछन्। नेताका कारण जनताले दुःख पाउन हुँदैन भन्दा रहेछन्। सक्रिय राजनीतिमा आउनुअघि नै सिङ्गापुरमा सिपाही छँदा मैले यो कुरा सिकेको थिएँ।’ 

‘हामीकहाँ राष्ट्रपति कतै निस्कँदा जनता हिँड्ने बाटो नै बन्द गरिन्छ, जनतालाई दुख दिइन्छ, नेतालाई जनतासँग डरै छैन,’ उनले थपे, ‘राजनीति गर्ने मान्छे जनतासँग सधैँ डराइरहनुपर्छ भन्ने कुरा सिङ्गापुरमा सिपाही छँदा मैले सिकेको छु। म अहिले पनि जनतासँग डराउँछु। जनतासँग डराउने भएकैले फक्ताङलुङगका जनताले मलाई यति धेरै माया र भरोसा गरेका होलान्।’ 

‘सिङ्गापुर लाहुरे, अवकाशपछि उहाँ विदेश वा काठमाडौँमा विलासी जीवन बिताउन पनि सक्नुहुन्थ्यो, तर गाउँको सेवा गर्छु भनेर फर्कनुभयो,’ बुढाथोकीले भने, ‘यत्तिको मान्छे गाउँपालिकाका लागि काम लाग्छ भनेर उहाँलाई फक्ताङलुङ गाउँपालिकावासीले विजयी बनाएका हुन्। गठबन्धनले विजय हासिल गरेको पनि उहाँप्रति जनताको विश्वासकै कारणले हो।’ 

*यसअघि उम्मेदवारसम्बन्धी विवरणमा अन्यथा भएकाले सच्याएका छौं। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .