चुनाव नजिकिँदै जाँदा पार्टीको हित विपरित कार्य गरेको भन्दै बुवालाई कारबाही गर्न छोराले सिफारिस गरेका छन्।
मकवानपुरको मनहरी गाउँपालिका-४ का चन्द्रबहादुर न्यौपानेले आउँदो फागनु २१ गतेको निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गरेको भन्दै उनका छोरा शंकर न्यौपानेले कारबाहीको लागि सिफारिस गरेका हुन्। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका शंकरले जिल्ला सभापति बुद्ध लामासमक्ष कारबाहीको लागि सिफारिस गरेको पत्र नेपालखबरले प्राप्त गरेको छ।
निर्वाचनमा पार्टीको नीति, विधि र सिद्धान्त तथा उम्मेदवारलाई असर पार्ने किसिमको गतिविधिमा संलग्न भएको भन्दै शंकरले पार्टी कार्यसमितिमा कारबाही गर्न अनुरोध गरेका हुन्। उनले पार्टी सदस्यता समेत नरहने गरी कारबाही गर्न माग गरेका छन्।
उनले बोधार्थ बागमती प्रदेश सभापति, गाउँ सभापति मनहरी गाउँपालिका र वडा सभापति मनहरी गाउँपालिका-४ मा पनि पठाएका छन्।
‘फागुन २१ गते को निर्वाचनलाई प्रभाव पर्ने गरि पार्टीको नीति, विधि, सिद्धान्त र उम्मेदवारलाई असर पार्ने किसिमको गतिबिधिमा लागि रहनु भएकोले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि कारबाहीको लागि सिफारिसका साथ अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।
मकवानपुरको मनहरी गाउँपालिका-४ का शंकर कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्। उनका बुवा चन्द्रबहादुर कांग्रेसका जिल्ला सदस्य छन्।
Shares

प्रतिक्रिया