राजनीति


गैरआवासीय नेपाली विश्व सम्मेलन मंगलबारदेखि

गैरआवासीय नेपाली विश्व सम्मेलन मंगलबारदेखि

नेपालखबर
असोज २७, २०७६ सोमबार १५:५३,

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ।

विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुँदै छ। सम्मेलनको जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए।

उनले सम्मेलन नेपालको विकास निर्माणमा संघले खेल्ने भूमिकामा केन्द्रित हुने बताए। सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र संघलाई एकै ठाउँमा सहभागिता गराई मुलुकको आर्थिक विकासमा छलफल गरिनेसमेत उहाँले जानकारी दिए।

उपाध्यक्ष पन्तले नेपालको आर्थिक उन्नतिका लागि संघका सदस्यले सिकेको ज्ञान, सीप र प्रविधिलाई भित्र्याउन संघ प्रतिबद्ध रहेको धारणा राखे। ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले होटल ह्यातमा गर्ने कार्यक्रम छ।

सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० सहभागी उपस्थित हुने छन्। संघका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताए।

उनका अनुसार ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना रहेको जानकारी दिए। उनले सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालका लागि नेपाल’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा संघका प्रवक्ता भुषण घिमिरेका अनुसार सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा उच्चस्तरिय आयोजक समिति, संघका अध्यक्ष भट्टको संयोजकत्वमा संघको आन्तरिक आयोजक समिति गठन गरिएको छ।

असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा संघको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने प्रवक्ता घिमिरेले जानकारी दिए। महाधिवेशनले संघको नयाँ नेतृत्वसमेत चयन गर्नेछ। नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ।

नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ। संघको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ। कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ। सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली स्वदेश आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad