नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले उपल्लो तहका नेतामा सांस्कृतिक विचलन आएकोमा चिन्ता व्यक्त गरेका छन्। आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला (कम्युन) ले आयोजना गरेको बडादशैँ, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता, कार्यकर्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
कम्युनिष्ट पार्टी श्रमिकको भनिए पनि उपल्लो तहका नेताका घरमा अब नाङ्गो खुट्टाका गरीब जनता, सुकुम्वासी र पोषणयुक्त खाना नपाएर रोगग्रस्त बनेका व्यक्तिले प्रवेश पाउने स्थिति नरहेकोमा उनीहरुले दुःख व्यक्त गरेका छन्। ‘काठमाडौँमा नेताहरुका महलको टुप्पो हेर्न घाँटी तन्काउनु पर्छ’, नेकपाका महोत्तरी इञ्चार्ज राजु खड्काले भने, ‘ती घरमा गरीब कार्यकर्ताले प्रवेश पाउँदैनन्, ठूल्ठूला ठेकदारको त्यहाँ हल्लीखल्ली हुन्छ।’
पार्टीका स्थायी समिति सदस्य एवं वर्तमान सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल मुख्य आयोजक रहेका कार्यक्रममा जिल्लाका अगुवा नेता र कार्यकर्ताले धन कमाउनु, ठाटबाट देखाउनु, नैतिक चरित्र पतन हुने काममा समेत लम्पट देखिने नेताहरुको चरित्रले वर्गीय दृष्टिकोण, माक्र्सवादी चेत र समाजवादको लक्ष्य भनिने पक्षलाई उपहास गरेको टिप्पणी गरेका छन्।
कार्यक्रममा कार्यकर्ताले जनताको घरमा सातुपिठो खाएर त्यही घरायसी नाता जोड्ने पुरानो पार्टी परम्परा अब इतिहास भएको टिप्पणी गरेका छन्। ‘सत्ता भनेको मोजमस्ती गर्ने ठाउँ हो भन्ने मान्यता नेताहरुकै व्यवहारले देखाएको छ’ उनीहरुले भने, ‘अब आदर्श, विचार, परिवर्तन र क्रान्तिका कुरा नेताहरुको सुकिला र पोटिला शरीरमा हेरेर चित्त बुझाउनुपर्ने दिन आएछन्।’
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य भरतप्रसाद साहले पनि नेतृत्वको उपल्लो तह हुँदै अब रवाफ र तडकभडक तल्लोतहसम्म टाँसिदै आएको स्वीकार गरे। जीवनपद्धतिमा आएको यो नैतिक ¥हास उपल्लो तहदेखि नै धोइँदै ल्याउनुपर्ने साहको भनाइ छ।
सबै अगुवा नेता, कार्यकर्ताको टिप्पणी सुनेका मन्त्री पोखरेलले मान्छेले आफु कसरी चल्ने भन्ने स्पष्ट जीवन दृष्टिकोण बनाउन नसक्दा नैतिक र सांस्कृतिक विचलन आउने बताए। यसलाई विचारको स्पष्ट दृष्टिकोणले नै सफा पार्ने मन्त्री पोखरेलको भनाइ छ।
जिल्लाभरिका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रमले नेतालाई तल्लो तहका कार्यकर्ताको ठम्याइ र मूल्याङ्कन बुझ्न सहयोग पु¥याएको सहभागीले टिप्पणी गरेका छन्। जनताको पक्षमा सधैँ उभिने कुरा नारा मात्र नभएर जीवनपद्धतिमा स्वीकार गरिएको कुरा व्यवहारमा उतार्न नेतालाई आम कार्यकर्ताको सुझाव छ। रासस
Shares

प्रतिक्रिया