प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले यौन दुराचार प्रकरणमा मुछिका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न आग्रह गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी एक नेकपा नेताले भने, ‘सभामुख र संसद सदस्य दुवै पदबाट राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्छ भन्ने निर्णय गरेको छ।’
सभामुख महराले संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुराचार गरेको आरोप लागेपछि त्यसबारेमा छलफल गर्न मंगलबार बिहान सचिवालय बैठक बोलाइएको हो।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा झलनाथ खनाल, माधव नेपाल, ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापालगायत उपस्थित थिए।
सचिवालय बैठकअघि नेकपाका दुवै अध्यक्षसहितको हाइकमान्ड बैठक भएको थियो। सो बैठकमा दुवै अध्यक्षहरूले पूर्व सभामुख तथा संवैधानिक कानुनका ज्ञाता सुवाष नेम्वाङसँग परामर्श गरेका थिए। महराले सभामुख पद त्यागको प्रक्रिया के हुन्छ र त्यसपछिको अवस्थामा पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा उनीहरूबीच छलफल भएको थियो।

प्रतिक्रिया