राजनीति


जनतामाझ पुगेर गरेका घोषणा भुलेको छैनः उपप्रधानमन्त्री

 जनतामाझ पुगेर गरेका घोषणा भुलेको छैनः उपप्रधानमन्त्री

नेपालखबर
असोज ११, २०७६ शनिबार ८:५०,

उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन सबैमा आग्रह गरेका छन्।

दशैँतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताए।

नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न उनले आह्वान पनि गरे। उपप्रधानमन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताए। ‘जनप्रतिनिधि जनताले बनाएका हुन्’, रक्षामन्त्री पोखरेलले भने, ‘म यसप्रति गम्भीर छु। तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सिधैँ मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहल कदमी लिन्छु।’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् सबै नेपालीले मान्ने संवत् भएको जिकिर गर्दै विक्रम संवत्का स्थानमा नेपाल संवत् लागू गर्नुपर्ने धारणा राखे।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ (१) का प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीबाहेक जनताका अरु कुनै पनि कामका लागि आफू तयार रहेको बताए। उनले विकासका लागि प्रदेशका तर्फबाट बजेट र स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाए। सांसद सिलवालले हालसम्म प्रदेशका तर्फबाट भए÷गरेका विकासका कामबारे विवरण प्रस्तुत गरे।

टुकुचा खोलाबाट वर्षेनी आइपर्ने समस्या स्थानीयवासीकै कारण उब्जिएको उनको भनाइ थियो। ‘टुकुचाले हामीलाई दुःख दिएको होइन। हामीले टुकुचालाई दुःख दिएका थियौंँ र अहिले हामीले दुःख पाएका हौंँ तर यो समाधान गर्नै नसकिने विषय होइन, हामी समाधानका लागि पहल गर्छौंँ,’ उनले भने।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रदेशसभा सदस्य सीता अधिकारीले सरकारले डेढ वर्षमा थुप्रै कानुन बनाएको र विकासका कामलाई पनि अघि बढाएको विचार राखे। कामपा–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले अतिक्रमित सार्वजनिक जग्गा वडा मातहत ल्याएर त्यहाँ सरकारी भवन र संरचना निर्माण गर्ने अभियानलाई तीव्रता दिइने बताए। ‘आजको कार्यक्रम पनि हालैमात्र वडामातहत ल्याइएको सार्वजनिक जग्गामा गरिरहेका छौंँ’, उनले भने, ‘यो एउटा सन्देश पनि हो, आगामी दिनमा हामी सरकारी जग्गा संरक्षणमा विशेषरुपमा लाग्ने छौंँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad