अफगानिस्तानमा शनिबार कडा सुरक्षाबीच राष्ट्रपतिय निर्वाचन जारी छ।
विद्रोही समूह तालिबानको चेतावनीबीच अफगानिस्तानमा मतदान भइरहेको हो।
मतदान केन्द्रलाई लक्षित गरी आक्रमण गर्ने तालिबान विद्रोहीहरूले धम्की दिएका कारण हजारौँको सङ्ख्यामा त्यहाँ सुरक्षा फौज तैनाथ गरिएको बीबीसीले जनाएको छ।
दुई पटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समय देखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि आयोजना गरिएको हो।
अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ गनी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह प्रमुख दाबेदार मानिएका छन्। उनीहरू सन् २०१४ देखि सत्तामा छन्।
स्वतन्त्र निर्वाचन आयोगका प्रवक्ता जाबी साडातले समाचार संस्था एएफपीलाई बताए अनुसार मतदान गर्ने क्रम देशै भरी सुरु भएको छ र मतदान केन्द्रहरूमा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको छ।

शनिबार मतदान अगाडि एक दुईवटा विस्फोटनको घटना भएको जनाइएको छ। त्यहाँ केही मानिसहरु घाइते भएका छन्।
चार दशक लामो युद्धको मारमा परेको मुलुकलाई नयाँ राष्ट्रपतिले नेतृत्व गर्ने छन्। अमेरिकाले तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ।
हाल १४ हजार अमेरिकी सेना अफगानिस्तानमा तैनाथ छन्। ब्रिटेन, जर्मनी र इटली जस्ता मुलुकबाट समेत त्यहाँ हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले अफगानिस्तानका सैन्य फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्।
सन् २००१ मा अमेरिकाले तालिबानको सत्ताच्यूत गरे पछिको यो चौथो निर्वाचन हो र निर्वाचित हुने उम्मेदवारले देशको इतिहामा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ।

अब्दुल्लाह र घानी
तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन। अमेरिकासँग सहमति भएपछि मात्रै सरकारसँग वार्ता गर्ने तालिबान विद्रोही समूहले बताएको छ।
त्यस कारण पनि सत्ताको बागडोर कसको हातमा जान्छ भन्ने विषय अमेरिकाका लागि त्यति ठुलो चासोको विषय नहुन सक्छ।
तर सेना र तालिबान विद्रोहीबीचको सङ्घर्षको चपेटामा परेका सर्वसारधारणलाई भने यो महत्वपूर्ण विषय हो। बीबीसी

प्रतिक्रिया