प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल निर्माणकै क्रममा सकिने बताएका छन्।
बिहीबार बिहान बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल ठाङठाङ ठुङठुङमै बित्ने बताएका हुन्।
प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै गरेको भवनको ठाङठङ ठुङठुङ आफूले सन्नु परे पनि आफूपछिका प्रधानमन्त्री भने शान्तिपूर्वक बस्न पाउने उनकाे भनाइ थियो।
‘मेरो कार्यकाल ठाङठाङ ठुङठुङ सुन्दै बित्ने भयो। छेउमा राष्ट्र बैंक बन्दैछ। त्यसको ठाङठाङ ठुङठुङ, यता आफ्नै भवनको ठाङठाङ ठुङठुङ, राति पनि दिउँसो पनि ठाङठाङ ठुङठुङ सुन्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अबका प्रधानमन्त्रीले भने शान्तसँग बस्न पाउनुहुन्छ किनभने त्यतिबेला सबै बनिसकेका हुन्छन्।’
उनले वर्तमानको भन्दा पनि अगामी आवश्यकतालाई ध्यान दिएर प्रधानमन्त्री निवासको नयाँ भवन निर्माण गर्न लागिएको बताए। ‘आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गर्दै छौँ,’ प्रधानमन्त्री ओलीले भने।
उनले प्रधानमन्त्री निवास आफ्ना लागि मात्रै नभएको दावी गरे। ‘म अहिले ४१ औं प्रधानमन्त्री छु’, उनले भने, ‘यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ।’ उनले आफ्नो कार्यकाल भवन निर्माण र रंगरोगमै सहिने भन्दै आफूपछिका प्रधानमन्त्रीले त्यसको उपभोग गर्न पाउने बताए।
सरकारले अहिलेको प्रधानमन्त्री निवास परिसरमै प्रधानमन्त्री निवास र बैठक कक्षसहितका दुई भनव निर्माण गर्न लागेको छ। ती दुबै भवनको निर्माणका लागि ४० करोड लाग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया