सत्तारुढ दल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन्।
बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले विरोधलाई पनि स्वीकार गर्ने संस्कारको विकास गर्नुपर्ने बताए। ‘देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस हुन्छन्, कसैले समर्थन गर्छन् त कसैले विरोध’, उनले भने, ‘अरुले गर्ने विरोधलाई हामीले अन्यथा लिनुहुँदैन, यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ।’
उनले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताए। ‘कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्’, उनले भने, ‘हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुराहरु यो बेठीक हो भनेर जनतामा जानुपर्छ।’
नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारबाहीलाई निगरानी गरिएको जानकारी दिए। एकताले पूर्णता पाएको भन्दै उनले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गरे।

प्रतिक्रिया