गत भदौ १८ देखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीउम तथा पीओएस (पस) मेसिनमा एनआईआईसी एसियाका डेबिट र क्रेडिट कार्डहरु आजदेखि सुचारु भएको छ। भदौ १४ मा भएको एटीएम सिस्टम ह्याकिङपछि अन्य बैंकका एटीएममा उक्त कार्डहरु नचल्ने पारिएको थियो।
एनआईसी एसिया बैंकका अनुसार डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका पोइन्ट अफ सेल्स (पस) मा समेत चल्ने व्यवस्था मिलाइएको छ। बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २ सय ९८ शाखा कार्यालयहरु, ३ सय ५७ एटीएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको जानकारी दिएको छ। बैंकका करिब १८ लाख ग्राहक रहेका छन्।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया