गृहमन्त्री रामबहादुर थापाले कांग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन्।
काठमाडौँ, भक्तपुर र ललितपुरका कांग्रेस जिल्लाका सभापतिले शनिबार बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
“हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ”, उनले भने।
गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताए। घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाई थियो।
काठमाडौँका सभापति सबुज बानियाँले जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय भएको बताए।
काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाका दोषीलाई तत्काल कारवाही गर्नुपर्नेमा जोड दिए।
भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको आरोप लगाए।
उक्त घटनामा कांग्रेसका बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए।

प्रतिक्रिया