पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो ढल्कँदो उमेरमा पनि मैदानमा सशक्त रूपमा प्रस्तुत हुँदै आएका छन् ।
हालै मात्र युरोकप २०२० को छनोटमा उनले राष्ट्रिय टोलीका लागि ह्याट्रिक गोल गरे । रोनाल्डोको गोलमा पोर्चुगलले लिथुनियालाई ४–० ले पराजित गर्यो । यससँगै उनको टोली युरोकपको छनोटनजिक छ ।
रोनाल्डोको लय क्लब फुटबलमा पनि यस्तै छ । उनको उमेरका खेलाडी सायदै यो स्तरको प्रतियोगितामा सक्रिय छन् । भएका खेलाडीको पनि लय उनको जस्तो छैन । फुटबलमा उमेरले ३० वर्ष लागेपछि खेलाडीहरू सन्न्यासतर्फ लाग्ने गर्छन् ।
तर, रोनाल्डो ३४ वर्षका भए । यही उमेरमा उनी क्लब र राष्ट्रका लागि एकनाशको प्रदर्शन गर्दै आएका छन् । यही मिहिनेत र प्रदर्शनले अन्तर्राष्ट्रिय फुटबलमा उनको छवि अझ चुलिँदै गएको छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
युरोकपमा धेरै गोल
रोनाल्डोले युरोकप फुटबलमा सन् २००४ मा पहिलो खेल खेलेका हुन् । ग्रिससँग १–० ले पराजित हुँदा रोनाल्डोले पोर्चुगलको जर्सी लगाउने अवसर पाएका थिए । त्यसयता उनी निरन्तर राष्ट्रिय टोलीमा छन् ।
उनले टोलीलाई खेलाडी र कप्तानको दुवै भूमिकामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । रोनाल्डोले युरोकपमा सर्वाधिक व्यक्तिगत गोलको कीर्तिमान कायम गरेका छन् ।
लिथुनियाविरुद्धको ह्याट्रिकसँगै रोनाल्डोले युरोकपमा आफ्नो गोल संख्या २५ पु¥याए । रोनाल्डोले युरोकप छनोटमा आयरल्यान्डका रोबी किनले राखेको २३ गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
अलीको रेकर्ड पछ्याउँदै
विश्व फुटबलमा राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने कीर्तिमान इरानका अली दायरले राखेका छन् ।
सन् १९९३ देखि २००६ सम्म इरानी राष्ट्रिय टोलीबाट खेलेका उनले १४९ खेलबाट १०९ गोल गरेका छन्, जुन विश्व कीर्तिमानका रूपमा स्थापित छ । रोनाल्डो अलीको सो कीर्तिमाननजिक पुगेका छन् ।
रोनाल्डोले राष्ट्रिय टोलीबाट अहिलेसम्म ९३ गोल गरिसकेका छन् । अलीको कीर्तिमानबाट रोनाल्डो अब मात्रै १६ गोलले पछि छन् । केही समय यो लयलाई कायम राख्न सके रोनाल्डोले अलीको कीर्तिमान पनि भंग गर्न सक्नेछन् ।
रोनाल्डोले सन् २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट हालसम्म १६१ खेल खेलेका छन् । पोर्चुगलको राष्ट्रिय टोलीबाट व्यक्तिगत ९० भन्दा माथि गोल गर्ने रोनाल्डो एक्ला खेलाडी हुन् ।

प्रतिक्रिया