सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक गाउँपालिकाका अध्यक्षलाई पार्टीबाट निलम्बन गरेको छ।
नेकपाले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पार्टी अनुशासन विपरीत काम कारबाही गरेको भन्दै पार्टीबाट निलम्बन गरेको हो।
नेकपा प्रदेश ३ कमिटीले जिल्ला समिति सदस्य समेत रहेका अध्यक्ष खड्कालाई तुरुन्त कारबाही गर्न जिल्ला कमिटीलाई दिर्नेशन दिएको नेकपाका जिल्ला नेताले जानकारी दिए।
नेकपाका प्रदेश ३ कमिटी सचिव आनन्द पोखरेलले अध्यक्ष खड्कालाई निलम्बन गर्न निर्देशन दिएको बताए।
खड्काले पाटीृ हित र अनुशासन विपरीत कार्य गरेको आफ्नै पार्टीका साथीहरुलाई गलत आरोप लगाएर झुट्टा मुद्दामा फसाउने काम गरेको, पार्टी बैठक र छलफलमा अनुपस्थित हुने गरेको आरोप लगाइएको छ।
तत्कालीन एमालेबाट उम्मेदवार बनी लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका खड्का अन्य जनप्रतिनिधि र कर्मचारीमाथि आक्रमणमै उत्रिने गरेको बताइएको छ।
त्यस्तै खड्काले गत साउनमा तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङ र अमृत तामाङलाई झुटो आरोपमा पक्राउ गराएको बताइएको छ। उनीहरुलाई प्रहरीले साउनको तेस्रो साता काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको हो। बाबुरामलाई प्रहरीले गोली नै हानेर पक्राउ गरेको हो।
पार्टीले कारबाही गरे पनि ऐनमा स्पष्ट व्यवस्था नभएका कारण उनको गाउँपालिका अध्यक्षको पद भने नजाने भएको छ।

प्रतिक्रिया