प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट सुरु गर्ने भएको छ।
नेपाली कांग्रेसले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो। सो जागरण अभियान ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने र त्यसका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रित प्रतिनिधि खटाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
जागरण अभियानका क्रममा सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आम जनतालाई जानकारी गराउने पनि कांग्रेसले जनाएको छ। त्यसैगरी पार्टी प्रवेशका लागि अभियान चलाउने, पार्टीका माथिदेखि तल्लो तहका नेताहरुबीचको सम्वादलाई घनिभूत बनाउने पनि जागरण अभियानको उद्देश्य रहेको छ। असोज ७ गतेसम्म आयोजना हुने १५ दिने सो जागरण अभियानले पार्टी संगठनलाई चुस्त बनाउने विश्वास लिइएको प्रवक्ता शर्माले बताए।
नेपाली कांग्रेसले यस अघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत बैशाख २५ गतेबाट आरम्भ भई जेष्ठ २५ गते सम्पन्न गरेको थियो। पहिलो चरणको राष्ट्रिय जागरण अभियान जिल्ला केन्द्रित थियो भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित हुने पनि नेपाली कांग्रेसले स्पष्ट पारेको छ। नेपाली कांग्रेसले सरकारविरुद्धको आन्दोलनलाई चर्काउने मूल उद्देश्यका साथ चरणवद्ध रुपमा राष्ट्रिय जागरण अभियानलाई निरन्तरता दिएको हो।

प्रतिक्रिया