ad ad

राजनीति


चिनियाँ पक्षको एजेन्डामा सिडिओले हस्ताक्षर गर्न मानेनन्, नेपाल र चीनबीचको सीमा वार्ता असफल

चिनियाँ पक्षको एजेन्डामा सिडिओले हस्ताक्षर गर्न मानेनन्, नेपाल र चीनबीचको सीमा वार्ता असफल

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ३:५२,

नेपाल–चीनबीच हुम्लाको सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ।

हुम्लाको सीमा नजिक चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको संयोजकत्वमा नेपाली टोली गएको थियो।

प्रमुख जिल्ला अधिकारी भट्टराईले वार्ताबाट ठोस निर्णय नआएको बताइन्। ‘चीनको माथिल्लो निकाय र नेपाल सरकारबाट लिखितरूपमा निर्णय गर्ने अधिकारी नआएपछि वार्ताले लिखित रुप पाउन सकेन,’ प्रजिअ भट्टराईले भनिन्।

नेपाल सरकार गृह मन्त्रालयले सीमा सुरक्षा वार्तामा कुनै सम्झौतामा हस्ताक्षर नगर्ने र अनौपचारिक कार्यक्रममा सहभागी हुने भनी आदेश दिएकाले वार्तामा चिनियाँ पक्षले ल्याएको एजेण्डामा प्रजिअले हस्ताक्षेर नगरेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको प्रजिअ भट्टराईले जानकारी दिइन्।

सीमा वार्ताको बैठक चिनियाँ सीमा प्रहरीचौकी सेरामा बसेको थियो। वार्तामा नेपालको तर्फबाट बिनिता भट्टराई र चिनियाँ पक्षको पुराङ्ग काउण्टीका सिडिओ किउसीसहितको टोली बसेको थियो।

वार्तामा चिनियाँ पक्षले तिब्बती नागरिक नेपाल हुँदै बिनाप्रवेशाज्ञा भारत जान रोक लगाउनुपर्ने, सीमामा हुने अनैतिक कार्य बन्द गर्नुपर्ने, मानिस आवतजावत गर्ने नाकामा संयुक्त सुरक्षा पोष्ट बनाई आवतजावतमा कडाइ गर्नुपर्ने, हिल्सा नाकाबाट हुने सुन तस्करी बन्द हुनुपर्ने, अवैधरूपमा हुने हातहतियार तथा मानव तस्करी र विभिन्न खाले सामानको ओसारपोसारमा रोक लगाउनुपर्ने भन्ने एजेण्डा अघि सारेको थियो।

चीन सरकारका यी एजेण्डामा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी भट्टराईले हस्ताक्षर नगरेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो।

विगतका वर्षमा वार्ता टोलीलाई वार्ता सकिएपछि मानसरोवर कैलाश घुमाएर नेपाल पठाउने गरिएको भए पनि यसपटकको वार्ता असफल भएपछि वार्ता टोलीलाई मानसरोवर कैलाश जान नदिएर ताक्लाकोट नै फिर्ता पठाएको छ।

वार्ता भएपछि केही समस्या समाधान होला भनेर सोचेका हुम्लीवासी सीमा सुरक्षा वार्ता असफल भएपछि निराश भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .