नेकपा (एमाले) का सांसद क्षितिज थेबेले सरकारको सय दिनको कार्यकाल पूर्णतः असफल रहेको टिप्पणी गरेका छन्।
सोमबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद थेबेले सरकार जनउत्तरदायित्वबाट भागेको र संसद्मा उठेका प्रश्नको सामना गर्न डराएको आरोप लगाए। उनले सरकारको कार्यशैलीलाई ‘परीक्षा नै बंक गरेको’ विद्यार्थीसँग तुलना गरे।
‘सरकारले परीक्षा नै दिएको छैन भने हामीले कसरी अंक दिने? प्रधानमन्त्रीज्यू संसद्मा आउनुहुन्न, प्रश्नहरूको जवाफ दिनुहुन्न,’ उनले भने।
सरकारले निर्वाचनका समयमा गरेका वाचाहरू र नीति तथा कार्यक्रमबीच कुनै तालमेल नदेखिएको उनको तर्क छ। बजेट निर्माण प्रक्रियामा देखिएका गम्भीर त्रुटी र करका दर हेरफेरका विषयमा पनि सांसद थेबेले सरकारको आलोचना गरे।
विगतमा सानो त्रुटी हुँदा समेत छानबिन समिति बन्ने गरेको स्मरण गराउँदै उनले अहिले बजेट वक्तव्य सार्वजनिक हुनुपूर्व नै सूचना बाहिरिँदा र सात-सात पटक दर रेट हेरफेर हुँदा समेत सरकारले कुनै जवाफदेहिता नदेखाएको बताए।
‘पुरानो दलले यसो गर्यो र उसो गर्यो भनेर मात्र सरकारको जिम्मेवारी पूरा हुँदैन। यति धेरै जवाफहीनता र जनताका प्रश्नबाट भाग्ने काम इतिहासमा यसअघि कहिल्यै भएको थिएन,’ उनले भने।
सांसद थेबेले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको, राजनीतिक मुद्दामा दोहोरो मापदण्ड अपनाइएको र सार्वजनिक यातायातको रङ परिवर्तनजस्ता सतही काममा मात्र सरकार अल्झिएको आरोप लगाए।
Shares

प्रतिक्रिया