राजनीति


चरित्र नसुधारे नेपालका कम्युनिस्टलाई जनताले लखेट्ने दिन आउन सक्छः प्रचण्ड

चरित्र नसुधारे नेपालका कम्युनिस्टलाई जनताले लखेट्ने दिन आउन सक्छः प्रचण्ड

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ७:६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीका नेताहरुमा राजा–महाराजाको प्रवृत्ति देखिन थालेको बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले नेताहरुले आचरण नसुधारे जनताले लखेटने दिन आउने बताए।

‘नेपालका कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थाल्यो’, उनले भने, ‘यस्तै प्रवृत्ति बढ्दै गयो भने पूर्वी युरोपमाजस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै कम्युनिस्टलाई लखेटेजस्तै यहाँ पनि त्यो अवस्था आउन सक्छ।’

अध्यक्ष प्रचण्डले आचरण सुधारेर अगाडि बढ्नुको विकल्प नभएको बताए। सोभियत संघ बुर्जुवाहरुले कम्युनिस्टकै प्रयोग गरेर सत्ता ढलाए उदाहरण दिँदै उनले बुर्जुवाहरु कम्युनिस्टहरुलाई विकृत बनाउने योजनामा रहेको र कम्युनिस्टहरु राजा–महराजा बनेको आरोप लगाए। उनले कम्युनिस्ट नेताहरु राजा–महराजा बनेपछि जनता राजा–महाराजाका विरुद्ध लडेको जनमत नै कम्युनिस्टका विरुद्ध लाग्ने बताए।

‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिस्ट नेताहरु नै राजा–महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्’, उनले भने, ‘नेपालमा पनि त्यो अवस्था नआउला भन्न सकिन्न।’

अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टीमा अनुशासनहीन गतिविधि बढ्दै गएको र जसलाई जे मन लाग्ने त्यही बोल्न थालेको भन्दै चिन्ता व्यक्त गरे।

‘हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं’, उनले भने, ‘आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं।’ उनले यो प्रवृत्ति पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनकै विरुद्धमा भएको बताए।

अध्यक्ष ओली र सचिवालय सदस्य माधव कुमार नेपालबीच भनाभन भएको भोलिपल्टै अध्यक्ष प्रचण्डले अनुशासनको कुरा उठाउनुलाई गम्भीर रुपमा हेरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .