राजनीति


जम्मु कस्मिर विवादः पाकिस्तानले खोज्यो नेपालको भूमिका

जम्मु कस्मिर विवादः पाकिस्तानले खोज्यो नेपालको भूमिका

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ७:७,

पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको नाताले यस क्षेत्रमा शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न नेपाललाई आग्रह गरेको छ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले त्यस्तो आग्रह गरेका हुन्। ‘विदेशमन्त्री (कुरेसी)ले नेपाललाई सार्कको अध्यक्षको रुपमा शान्ति तथा स्थायित्वका लागि भूमिका खेल्न आग्रह गर्नुभएको छ’, पाकिस्तानी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत नियन्त्रित जम्मु तथा कस्मिरका पीडित जनतालाई सहज बनाउने भारतलाई प्रभावित गरोस् भन्नुभएको छ।’

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी भएर भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल छाडेको केही घण्टापछि नै पाकिस्तानी विदेशमन्त्री शाहले नेपाली समकक्षीसँग फोन सम्पर्क गरेका हुन्। दुवै नेताहरुबीच बिहीबार राति टेलिफोन वार्ता भएको थियो। नेपालसँग टेलिफोन वार्ताको बारेमा पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरे पनि नेपालले औपचारिक रुपमा जानकारी गराएको छैन।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री ज्ञवालीसँग कस्मिरको परिस्थितिबारे पाकस्तानी विदेशमन्त्री कुरेसीले छलफल गरेको जनाएको छ। ‘पाकिस्तान विदेशमन्त्रीले नेपाली समकक्षीसँग भारतको गैरकानुनी तथा एकपक्षीय कारबाहीले विवादास्पद जम्मु तथा कस्मिरको अवस्थामा परिवर्तन गरेको छ, जसले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई तोडेको छ’, पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनले भारतले नियन्त्रणमा रहेको जम्मु तथा कस्मिरमा चालेको कदमले यस क्षेत्रका शान्ति तथा सुरक्षालाई गम्भीर जोखिममा पारेको छ।’

भारतले कस्मिरमा हुनसक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै पूरै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। नेपालले कस्मिरका विषय दुई पक्षीय विषयमा भएकोले वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ। कस्मिरलाई भारत र पाकिस्तान दुवै देशले आफ्नो सार्वभौमिकता भएको दाबी गर्दै आएका छन्।

अगस्ट ५ मा दिन भारत सरकारले कस्मिर राज्यलाई दिँदै आएको विशेष दर्ता खारेज गरेको थियो। त्यसैगरी जम्मु तथा कस्मिरलाई स्थानीय संसद् रहने गरी केन्द्र शासनअन्तर्गत राख्दै भारतले लद्दाखलाई भने छुट्टै प्रशासनिक इकाइ बनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad