राजनीति


माओवादी छोडेका २३ नेता समेटेर एमालेको १०औँ महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण

माओवादी छोडेका २३ नेता समेटेर एमालेको १०औँ महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण

नेपालखबर
असार १६, २०७८ बुधबार ८:५८,

नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

गत चैत ७ गते एमालेले केन्द्रीय कमिटी र सबै निकाय भंग गर्दै १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाएको थियो।

उक्त कमिटीलाई सर्वाेच्च अदालतले गत जेठ २७ मा विधानमा नभएको व्यवस्था भन्दै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो।

प्रवक्ता ज्ञवालीले जेठ २७ गते सर्वोच्चले गरेको फैसलाले पार्टीका केही अधिकारमाथि प्रश्न उठाएको बताउँदै उक्त फैसला त्रुटिपूर्ण रहेको निष्कर्ष बैठकले निकाले बताए।

‘त्यो प्रचलित राजनीतिक दलसम्बन्धी ऐनको दफा २ सँग बाझिएको छ’, उनले भने, ‘आफ्नो पार्टीको विधानले बनाएको व्यवस्थाअनुसार हरेक पार्टी चल्छन्, चल्न पाउनुपर्छ। उनीहरुको अधिकारलाई यसले कटौती र उपेक्षा गरेको निष्कर्ष छ।’

अदालतको उक्त फैसलाविरुद्ध एमाले कानुनी प्रतिवादका लागि भ्याकेटमा गइसकेको उनको भनाइ छ।

‘विधिको शासन पालना गर्ने पार्टीले यो जतिसुकै अप्रिय भए पनि अर्काे अन्यथा निर्णय नहुँदासम्म अदालतको आदेशको पालना गर्नु हाम्रो कर्तव्य पनि हो’, ज्ञवालीले भने, ‘त्यसकारण हामीले अदालतको फैसलालाई समेत ध्यानमा राखेर १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई पुनः केन्द्रीय कमिटीमै रुपान्तरण गर्ने र अब पार्टी केन्द्रीय कमिटीबाटै सञ्चालित हुने निर्णय गरेका छौँ।’

फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपा भंग गर्ने फैसला गरेपछि दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएका थिए।

अदालतको फैसलापछि माओवादी केन्द्रका २३ नेताहरु एमालेमा प्रवेश गरेका थिए।

त्यसपछि फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले माओवादी छोड्ने २३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो।

‘आजको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ’, नेता नविन रोकामगरले नेपालखबरसँग भने, ‘अब हामी सबै केन्द्रीय सदस्य भएका छौँ।’

आज भएको निर्णयको आधारमा नेकपा एमालेको केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय हुनेछ।

एमालेले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने निर्णय गरेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गर्दै असार १८ गतेको लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

जेठ २ गतेको आधारमा एमालेमा १ सय ९७ जना केन्द्रीय सदस्य थिए।

तर, माओवादी केन्द्रसँग पार्टी एकता गर्नको लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति गरी ४४ जना नेतालाई थप गर्दै २ सय ४१ सदस्य केन्दीय कमिटी बनाइएको थियो।

बुधबारको महाधिवेशन आयोजक कमिटी बैठकले नेकपामा रहेका पूर्वमाओवादीका ४ र एमालेकै ४ नेतालाई स्थायी कमिटीमा थप गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad