नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समायोजनका नाममा क्रियाशील सदस्यता वितरणमा मनोमानी भएको भन्दै असन्तुष्ट बनेका छन्।
पौडेलले उपसभापति विमलेन्द्र निधिसँग उक्त असन्तुष्टि जनाएका हुन्। निधि पौडेललाई भेट्न वुधबार बोहोराटार पुगेका थिए।
पौडेलले निधिसँग समायोजनको विषयमा असन्तुष्टि जनाएका थिए। समायोजनको नाममा आफूखुसी क्रियाशील सदस्यता थप गरेको विषयमा पौडेलले निधिसँग प्रश्न गरेका थिए।
अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई विधि नपुर्याइ सदस्यता तथा पदबाँडफाँट गरेको भन्दै पौडेल निधिसँग आक्रोशित बनेका थिए।
पौडेलले मनोमानी ढंगबाट वितरण गरिएको क्रियाशील सदस्यता मान्य नहुने बताएको उनका स्वकीय सचिव चिरञ्जिवी पौडेलले नेपालखबरलाई बताए।
मंगलबार साँझ पौडेल र निधिबीच टेलिफोनबार्ता भएको थियो।
समायोजनको नाममा क्रियाशील सदस्यतामा मनोमानी गरेको भन्दै पौडेलले टेलिफोनमा असन्तुष्टि जनाएपछि निधिले भोलि निवासमै आउने बताएका थिए।
कांग्रेसले उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो।
उक्त समितिको सिफारिसमा अरु पार्टीबाट आएकाहरुलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो।

प्रतिक्रिया