महान्यायाधिवक्ता रमेश बडालले कुनै एउटा दलबाट चुनाव जितेर आएपछि म निर्दलीय भएँ भन्ने छुट कसैलाई नभएको बताएका छन्।
संसद विघटनको मुद्दामा रिटको विपक्ष अर्थात् सरकारी पक्षको तर्फबाट बहस गर्दै बडालले संविधानको धारा ७६ (५) मा उपधारा २ अनुसारका संसद सदस्यको समर्थन चाहिने भनेको बताए।
‘जनताले पत्याएका मान्छेले मात्र सरकार चलाउने भन्ने कुरा संविधानले स्वीकार गरेको छ। जनतामा पठाउँदा दलले टिकट दिएर पठाउने अनि निर्वाचित भएर आएपछि म दलप्रति उत्तरदायी छैन भन्न मिल्छ र?’, बडालले प्रश्न गरे।
यस्तै दलभित्रको निर्वाचनमा पराजित भएका व्यक्तिले दलभित्रको शासनचाहिँ मैले गर्न पाउनुपर्छ भन्न नमिल्ने बताए।
‘त्यो त प्रजातन्त्र हैन नि। दलबाट चुनाव जितेर आएपछि म निर्दलीय भएँ भन्ने छुट कसैलाई छैन। धारा ८४ (१) ख मा समानुपातिकको बारेमा उल्लेख गरिएको छ। सो उपधारा अनुसार समानुपातिकका संसदहरु पनि दलले चयन गर्ने हो। उनीहरु पनि दलको नियन्त्रणमा हुन्छन्,’ बडालले भने, ‘विद्वान मित्रहरुलाई अन्तरिम संविधानको ह्याङओभर रहेछ। अन्तरिम संविधानमा मात्र पार्लियामेन्टबाट प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था थियो। तर, अहिले प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपतिले नै हो।’

प्रतिक्रिया