ad ad

राजनीति


चीनसँग मासिक २० लाख डोज खोप मागेका छौँ : राजदूत पाण्डे

चीनसँग मासिक २० लाख डोज खोप मागेका छौँ : राजदूत पाण्डे

मणि दाहाल
असार ३, २०७८ बिहिबार १२:२३,

चीनले नेपाललाई आवश्यक पर्ने जति कोभिड खोप दिन तयार रहेको जनाएको छ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीनले नेपाललाई कति खोप आवश्यक छ भनी जानकारी माग गरेको र त्यसअनुसार उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए।

‘चिनियाँ अधिकारीहरुसँग छलफल हुँदा उहाँहरुले नेपाललाई कति आवश्यक परेको हो भनेर सोध्नुभएको छ। आवश्यक परिमाणमा उपलब्ध गराउनेबारे सकारात्मक रहेको पनि बताउनुभएको छ,’ राजदूत पाण्डेले नेपालखबरसँग भने, ‘हामीले मासिक २० लाख डोज उपलब्ध भए नेपालमा खोप अभियान राम्रोसँग अघि बढ्ने जानकारी गराएका छौं।’

राजदूत पाण्डेले चीनको सिनोफार्म र सिनोभ्याक्सका अधिकारीहरुसँग खोपको विषयमा निरन्तररुपमा छलफल भइरहेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग केहि सातापहिले भएको टेलिफोन वार्ताका क्रममा नेपाललाई खोप उपलब्ध गराइदिन आग्रह गरेकी थिइन्।

पछिल्लो समय सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको छ। सरकारले चीनसँग खोप खरिद गर्दा मूल्य भने सार्वजनिक नगर्ने भएको छ। चिनियाँ पक्षले नै नेपाललाई उपलब्ध गराउने खोपको मूल्य सार्वजनिक गर्न नपाइने शर्त राखेको छ।

‘चीनले दक्षिण एसिया र दक्षिण पूर्वी एसियालीहरुलाई सहुलियतमै खोप उपलब्ध गराउँदै आएको छ,’ राजदूत पाण्डेले भने।

फरक फरक देशलाई फरक फरक मूल्यमा खोप बेच्दै आएको चिनियाँ पक्षले खरिद मूल्य सार्वजनिक गर्न नपाइने शर्त राखेको छ।

एउटा मुलुकलाई दिएको दररेट सार्वजनिक हुँदा अर्को मुलुकले आफूलाई पनि सोहिअनुसार नदिएको भन्ने महशुस गर्न सक्ने भनी चीनले सो कुरा आपसी समझदारीअनुसार दर तोक्ने तर सार्वजनिक नगर्ने रणनीति लिएको हो।

चिनियाँ पक्षले महामारीका बेला खोपमा रहेको प्रोपर्टी राइट हटाउनु पर्ने र विकासशील देशहरुलाई सस्तोमा खोप उपलब्ध गराउनु पर्ने धारणा राख्दै आएको छ।

सुरुमा ६० लाख डोज माग गर्दै निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनलाई पत्र पठाएका थिए। कोरोनाको दोस्रो लहरसँगै १ करोड ४० लाख डोज आवश्यक रहेको नेपालले जनाएको थियो।

हालैको मन्त्रिपरिषद् बैठकबाट सरकारले १ करोड २० लाख डोज खोप खरिद गर्ने नीतिगत निर्णय गरेको छ। तर, कुन कुन कम्पनी वा देशसँग खरिद गर्ने भन्ने किटान गरेको छैन।
यसैबीच, अबको १५ दिनभित्र अर्थात् जुन महिनाभित्रमै नेपालले चीनबाट १० लाख डोज खोप ल्याउने सम्झौता गर्ने भएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्माले सरकारले चीनबाट ४० लाख खोप किन्ने निर्णय गरेको बताएका छन्।

शर्माले पहिलो खेपको १० लाख डोज असार १६ सम्ममा ल्याइने बताए।

कोभिड व्यवस्थापन निर्देशक समितिको बुधबार बसेको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस विषयमा जानकारी गराएका थिए।

‘चीनबाट ४० लाख डोज भ्याक्सिन ल्याउने निर्णय भएको छ। जुन महिनामा १० लाख डोज ल्याउने र त्यसपछि निरन्तर रुपमा ल्याउने गरी खरिद प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ शर्माले नेपालखबरसँग भने, ‘हामीले एकैपटक ल्याउने होइन। खोप ल्याएर बाँकी राख्नु हुँदैन। हामीलाई हरेक साता चार वा पाँच लाख डोज ल्याउने व्यवस्था गर्दा राम्रो हुन्छ।’

त्यसो गर्दा खोप अभियानलाई सहजरुपमा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।

चीनबाट खोप ल्याउँदा सिधै नेपाल र चीन सरकारबीच (जीटूजी) नै सम्झौता गरी स्वास्थ्य मन्त्रालयमार्फत् आउने शर्माले बताए।

सरकारले दुईतिहाइ जनसंख्यालाई खोप लगाउने घोषणा गरेको छ। दोस्रो चरणको महामारीपछि खोप लगाउन चाहनेहरुको संख्या बढे पनि सरकारले मागअनुसार व्यवस्थापन गर्न सकेको छैन।

चीनले अहिलेसम्म तीन पटक गरेर १८ लाख डोज खोप अनुदानमा दिएको छ भने भारतले दुई पटक गरेर ११ लाख डोज अनुदानमा दिएको छ। नेपालले भारतबाट खरिद गरेर थप १० लाख डोज ल्याएको छ। भारतसँग खरिद सम्झौता गरेको २० लाखमध्ये १० लाख डोज आउन बाँकी छ।

त्यसैगरी राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुद्वारा स्थापित कोभ्याक्स फेसिलिटीबाट ३ लाख ४८ हजार डोज नेपाल प्राप्त गरेको थियो।

दोस्रो लहर सुरु भएपछि भारत सरकार र त्यहाँको सर्वोच्च अदालतले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको छ। जसका कारण नेपालको खोप कार्यक्रम नराम्रोसँग प्रभावित बनेको छ।

भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग खरिद गरिसकेको १० लाख समेत नपाएका कारण सरकारले पहिलो खोप लगाएकालाई दोस्रो खोपको व्यवस्था पनि गर्न सकेको छैन।

अमेरिका, बेलायत र युरोप लगायतका देशहरुसँग पनि खोप प्राप्तिका लागि पत्राचार र लबिङ सुरु गरिएको बताए पनि त्यसमा कुनै ठोस प्रगति भएको देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .