विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले आज सर्वदलीय बैठक राख्दै छन्।
संसद् विघटनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई आज (शुक्रबार) दिउँसो २ बजे संसद् भवन (नयाँ बानेश्वर)मा बोलाएका हुन्।
सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार बैठकमा सहभागिताका लागि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरेका छन्।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख, पूर्वप्रधानमन्त्री सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा दोस्रोपटक विघटन गरेपछि सभामुख सापकोटाले यही जेठ २३ गते कानुनविद् र जेठ ११ गते पूर्वसभामुखसँग छलफल गरिसकेका छन्।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला बोलाइएको सर्वदलीय बैठकलाई महत्त्वका साथ हेरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी हुन्। जसविरुद्ध अदालतमा परेको मुद्दाको सुनुवाइ जारी छ।
Shares

प्रतिक्रिया