राजनीति


अब गण्डकी प्रदेशका मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र पोखरेल?

अब गण्डकी प्रदेशका मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र पोखरेल?

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार १:४१,

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएपछि गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणको बाटो खुलेको छ।

संविधानको धारा १६८ उपधारा ५ मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।’

यस उपधाराअनुसार अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना छ।

यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल तयार भएर बसेका छन्। यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा पनि पोखरेललाई नै नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको थियो।

बिहीबार मात्र खेलकुद मन्त्री पदबाट राजीनामा दिएका स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले विपक्षीलाई समर्थन गर्ने घोषणा गरेसँगै नेपालीले बहुमत जुटाउनसक्ने देखिएको छ।

यस्तो छ अंकगणित
गण्डकी प्रदेश सभाको कूल सदस्य संख्या ६० हो। यसको बहुमत ३१ हुन्छ। प्रदेश सभामा मुख्यमन्त्री गुरुङको पार्टी एमालेका जम्मा २७ सांसद छन्। बिहीबार विश्वासको मत लिँदा मुख्यमन्त्री गुरुङका पक्षमा यिनै २७ सांसदले मात्र मत दिए। जसले गर्दा उनी हारे।

यस्तै विपक्षीतर्फ बिहीबार ३० मत परे। नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्र का ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टी (जसपा) का २ सांसदले विपक्षमा मत हालेका हुन्।

जनमोर्चाका सांसद कृष्ण थापा भने पार्टीको ह्विप नमानेर कतै मत नहाली तटस्थ बसे भने उता युवा तथा खेलकुदमन्त्रीसमेत रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पनि सरकारको साथ छाड्दै मतदानमै प्रदेश सभा बैठकमै आएनन्।

मनाङेले पूर्वघोषणाअनुसार अब विपक्षीलाई सरकार बनाउन साथ दिनेछन्। उनले समर्थन गर्दा विपक्षी गठबन्धनलाई बहुमत ३१ सांसद पुग्छ।

यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदा मतदान हुनुभन्दा एक दिनअघि पदबाट राजीनामा दिएका गुरुङ प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा पुनः मुख्यमन्त्री बनेका थिए। त्यसको ३० दिनपछि विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअन्तर्गत उनले बिहीबारै विश्वासको मत लिएका हुन्।

तर बहुमत ल्याउन नसकेपछि उनी स्वतः पदबाट हटेका हुन्।

यो पनिमनाङे : मन्त्री पदबाट राजीनामा कि बर्खास्त?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad