प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जितेन्द्र सोनललगायत चार मन्त्रीलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारलाई बर्खास्त गरेको निर्णय गरेका हुन्।
जसपाभित्र विवाद बढ्दै गर्दा राउतले उनीहरुलाई बर्खास्त गरेका हुन्।
चारैजना मन्त्रीहरु महन्थ ठाकुर र राजेन्द्र महतो निकट नेताहरु हुन्।
जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदार गर्दै शुक्रबार ओली नेतृत्वको सरकारमा सहभागी भएको छ भने जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने कांग्रेस र माओवादी केन्द्र सहितको विपक्षी गठबन्धनमा रहेको छ।
प्रदेश २ को मुख्यमन्त्री राउत यादव पक्षका हुन्।
हटाइएका सबै मन्त्रीहरु पूर्व राजपाका हुन्। तर राजपा मध्येकै राजेन्द्र महतोको कोटामा मन्त्री बनेका नवलकिशोर साह र महेन्द्र राय यादवको कोटामा मन्त्री बनेका रामनरेश रायको कुर्सी जोगिएको छ।
उनीहरु पछिल्लो समय आफ्नो कित्ता परिवर्तन गरी पद जोगाउन उपेन्द्र यादव पक्षमा लागेका थिए। दुबै मन्त्री जसपाको कार्यकारिणी सदस्य रहेका छन्।
ठाकुर पक्ष सरकारमा गएसंगै उपेन्द्र यादव प्रदेश २ सरकारको सत्ता समीकरणको लागि सक्रिय भएका छन्। उनले शुक्रबार नै सत्ता समीकरणको लागि काँग्रेस उपसभापति बिमलेन्द्र निधिसंग भेटबाता गरेका थिए।
शुक्रबार साँझ जनकपुर आएका यादवले सत्ता समिकरण हेरफेर गर्न पार्टी भित्र तथा सत्ता साँझेदार गर्ने दल काँग्रेस र माओवादीका नेताहरुसंग छलफल गरेका छन्।
यसैबीच काँग्रेस संसदीय दलको बैठकले सत्ता समीकरण तथा सरकारमा सहभागी हुने विषयमा छलफल तथा वार्ताका लागि दलका नेत रामसरोज यादवलाई जिम्मेबारी दिएको छ।
Shares

प्रतिक्रिया