आज (बिहीबार) एकै दिन नेकपा एमालेका दुई पक्षका अलग अलग बैठक बस्ने भएका छन्।
निष्कासनमा परेका नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक अहिले बिहान ११ बजे र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय स्थायी कमिटीको बैठक आज अपराह्न ४ बजे बस्ने भएका हुन्।
एमालेका दोस्रो तहका नेताले पार्टी एकता कायम राख्ने प्रयास गरिरहेका बेला एकै दिन दुई पक्षका छुट्टाछुट्टै बैठक बस्न लागेका हुन्।
ओली पक्षले माधव नेपाल, झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ भने अरू १२ नेतालाई स्पष्टीकरण मागेको छ। तर उनीहरूले स्पष्टीकरण दिएनन्।
नेपाल पक्षका यी २३ नेता सांसद पनि हुन्, जसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।
एमालेका दोस्रो तहका नेताले पार्टीभित्र एकता कायम गर्ने पहल गरिरहँदा ओलीले माधव नेपालसहित केही नेतालाई छाडेर उनकै पक्षका घनश्याम भुसाल सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टसहितलाई पार्टीमा समेट्ने रणनीति लिएको चर्चा छ।
यसअघि बसेको एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहित केही नेतालाई पार्टीमा फर्काउन नसकिने निष्कर्ष निकालेको हो।
यस्तो अवस्थामा एकै दिन आज बस्न लागेका दुवै पक्षका बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
यो पनि : आफ्नै पक्षका नेताहरुको ढुलमुले व्यवहारबाट माधव नेपाल असन्तुष्ट
Shares

प्रतिक्रिया