प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका पदाधिकारीबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्ने सहमति भएको छ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित बारका पदाधिकारीसँग प्रधानन्यायाधीश राणाले आज छलफल गरेका थिए।
संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली २०७२ संशोधन गर्न एक हप्ताभित्र पूर्णबैठकले निर्णय गरेर न्याय परिषदमा पेश गर्ने सहमति भएको छ।
सर्वोच्च स्रोतका अनुसार आज प्रधानन्यायाधीशले यस बारेमा जानकारी गराएर इजलास स्थगित सम्भावना छ।
वरिष्ठताक्रम अनुसार गठन हुने इजलासमा कुनै कारण माथिल्लो वरियताका न्यायाधीशले बस्न अस्वीकार गरेमा अर्को बरिष्ठताक्रम अनुसार गठन गर्न प्रधानन्यायाधीश राणा सहमत भएका छन्।
इजलास गठनसम्बन्धि विवादका कारण शुक्रबारदेखि रोकिएको नियमित सुनुवाइ अहिले पनि सुरु हुन सकेको छैन।
न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखिएपछि इजलास गठन बिबादमा भएको हो।
रिट निवेदक पक्षका कानुन व्यवसायीले उनीहरु बस्न नमिल्ने बताएका छन्। इजलास पुनर्गठन भए उनीहरु दुवै पर्ने छैनन्।
वरिष्ठताक्रम अनुसार इजलास गठन भए अहिलेका तीन न्यायाधीश नरहने संभावना छ।
यसअघिको बेन्चमै नबसेका हरिकृष्ण कार्कीसमेत बस्ने संभावना छैन।
सहमति अनुसार पुनर्गठन भए प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वरप्रसाद खतिवडा रहनेछन्।

प्रतिक्रिया