जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट मन्त्री बन्नेको संख्याबारे सहमति जुटाइसकेका प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुर अहिले कसलाई कुन मन्त्रालय नेतृत्व गर्न दिने भन्नेबारे अन्तिम छलफलमा जुटेका छन्।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको समूहबाट ८ जना मन्त्री बनाउन सहमति जुटिसकेको नेताहरुको भनाइ छ।
ओलीसँगको सहमतिपछि अहिले ठाकुरले पार्टीका अन्य वरिष्ठ नेताहरु र मन्त्री बन्न आकांक्षीहरुसँग आन्तरिक छलफल गरिरहेका छन्।
सोमबार बालुवाटारमा भएको छलफलमा जसपाका ठाकुरले माग गरेअनुसार ८ मन्त्री र २ राज्यमन्त्री दिन ओली सहमत भएका हुन्।
जसपालाई यसअघि पूर्वमाओवादी नेताहरुले नेतृत्व गरिरहेका ७ मन्त्रालय सुरुमा दिने र पछि एक मन्त्रालय थप गरेर ८ बनाउन ओलीले सहमति जनाएको जसपाका एक नेताले जानकारी दिए।
ओलीले भौतिक पूर्वाधार वा अन्य कुनै मन्त्रालय खाली गराएर भए पनि जसपालाई ८ मन्त्रालय पुर्याउने वचन दिएका छन्।
माओवादी दल त्याग गरेपछि सांसद नरहेका माओवादी नेताहरुको मन्त्री पद अदालतको अन्तरिम आदेशसमेत आएका कारण निलम्बनमा छ।
एक नेताका अनुसार सुरुमा ७ मन्त्रालय लिएर जसपा सरकारमा सहभागी हुनेछ।
त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खाली गराएर जसपालाई दिन प्रधानमन्त्री राजी भएको ती नेताले दाबी गरे।
अहिले एमालेकै वसन्त नेम्वाङ भौतिक पूर्वाधार मन्त्री छन्।
‘अहिले पहिलो चरणमा माओवादीका नेताहरुले लिएको ७ मन्त्रालय लिएर हामी सरकारमा जानेछौं,’ ठाकुरनिकट ती नेताले भने, ‘भौतिक पूर्वाधार मन्त्रालय खाली गराएर दिन प्रधानमन्त्रीले सहमति जनाउनुभएको छ।’
बालुवाटारमा भएको छलफल सकारात्मक भएपछि मन्त्री बन्नेहरुको नाम छान्न ठाकुर र महतोले परामर्श गरिरहेका छन्।
स्रोतका अनुसार संसदीय दलको नेता भएकाले महतोकै नेतृत्वमा सरकारमा जाने लगभग निश्चित छ।
महतोलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिने प्रबल संभावना रहेको तर उनले भौतिक पूर्वाधार वा त्यसभन्दा अलि राम्रो मन्त्रालय लिने लबिङ पनि गरेको एक नेताको भनाइ छ।
‘गृहमन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुभएन, अब उर्जा वा भौतिक पूर्वाधारमध्ये कुनै मन्त्रालय लिएर महतो सरकै नेतृत्वमा जसपा सरकारमा सहभागी हुनेछ,’ ती नेताले थपे।
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने जसपा सरकारमा सहभागी हुने सहमति जुटे पनि मन्त्रालयको विषय नटुंगिएको बताए।
‘उहाँहरुले माग राख्नुभएको स्वभाविकै छ, आजको बैठकमा जसपालाई दिने मन्त्रालयको संख्या टुंगो लागेको छैन,’ नेम्वाङले भने, ‘प्रधानमन्त्रीजी र महन्थजीले छलफल गरेपछि सबै कुरा टुंगो लाग्छ।’
जसपाले मागेजति मन्त्रालय दिन प्रधानमन्त्री ओली सकारात्मक रहेको बुझिन्छ।
‘मन्त्रालयको विषयमा समस्या छैन, त्यो भइहाल्छ,’ नेम्वाङले भने।
नेम्वाङका अनुसार राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउन प्रधानमन्त्री ओलीले सबै दलसँग छलफल गरिरहेको पनि बताए।
‘राप्रपा लगायतका दलसँग पनि छलफल भइरहेको छ, राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीले विभिन्न दलसँग छलफल जारी राख्नुभएको छ,’ नेम्वाङले थपे।
महतोनिकट एक नेताले पनि आज बालुवाटारमा भएको छलफलले मन्त्रालयको टुंगो लगाएको बताए।
‘माओवादीबाट खालि भएका सबै मन्त्रालय लिने गरी तत्काल सरकारमा सहभागी हुने प्रधानमन्त्रीसँगको छलफलमा आज सहमति जुटेको छ, अब आन्तरिक छलफल गरेर मन्त्री बन्नेहरुको नाम टुंगो लगाउँछौं,’ ती नेताले भने।
गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा एमालेमा प्रवेश गरेपछि सांसदबाट पदमुक्त भएका थिए।
सांसद नभएका मान्छेलाई मन्त्री नबनाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपछि उनीहरुको मन्त्री पद हाललाई निलम्बित भएको हो।
आज ठाकुर, महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी लगायतका नेताहरुले प्रधानमन्त्री ओलीसहितका नेताहरुसँग छलफल गरेका थिए।
यसैबीच ठाकुर–महतो पक्षले उठाएका मागमध्ये थप केही सम्बोधन गर्ने प्रक्रियामा सरकार रहेको नेताहरुले बताएका छन्। मधेश आन्दोलनका बेला नेता तथा कार्यकर्तामाथि लागेका मुद्दामध्ये केही अझै फिर्ता गर्न बाँकी छ।
मन्त्रीपरिषद् बैठकले केही मुद्दा फिर्ता लिनेबारे निर्णय गर्नसक्ने सांसद प्रमोद साहले बताए।
‘हाम्रा माग मुद्दा थाती राखेर सरकारमा जाने अवस्था छैन, त्यही भएर मन्त्रीपरिष्दबाट केही मुद्दा फिर्ता लिने संभावना छ,’ साहले भने।
‘यो चुनावी सरकार हो’
जसपाका नेताहरुलाई प्रधानमन्त्री ओलीले अब बन्ने सरकार चुनावी सरकार हुने बताएका छन्।
‘यसलाई सहमतिको राष्ट्रिय सरकार बनाऔं, अनि चुनावमा जानुको विकल्प छैन,’ ओलीको भनाइ उद्धृत गर्दै नेम्वाङले भने।
Shares

प्रतिक्रिया