राजनीति


नेपाल पक्ष भन्छः पार्टी फुट्दा पनि हाम्रो शक्ति नवौँ महाधिवेशनमा जत्रै रहन्छ

नेपाल पक्ष भन्छः पार्टी फुट्दा पनि हाम्रो शक्ति नवौँ महाधिवेशनमा जत्रै रहन्छ

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १६:११,

नेकपा एमाले अब एकढिक्का रहन नसक्ने निष्कर्ष निकालेर अलग पार्टी निर्माणमा जुटेको माधवकुमार नेपाल पक्षको संगठन विस्तार अभियान कोरोना महामारीका कारण रोकिएको छ।

देशव्यापी समानान्तर संगठन विस्तारमा लागेको सो समूहको गतिविधि अहिले केन्द्रमा मात्र सिमित छ।

पार्टी निर्माणका लागि आवश्यक कानुनी, वैचारिक तथा प्राविधिक विषयको खाका तयार गर्ने काम भइरहेको छ। त्यसको नेतृत्व माधवकुमार नेपालले नै गरिरहेका छन्।

नेपालले दैनिकजसो आफूनिकट स्थायी कमिटीका केही सदस्यहरुसँग भर्चुअल संवाद गरिरहेका छन्। उनले केही दिनको अन्तरालमा केन्द्रीय कमिटीका नेताहरुलाई समूहको गतिविधिबारे नियमित रुपमा जानकारी गराउँदै आएका छन्। तर, जिल्लास्तरमा भने उनीहरुको गतिविधि ठप्पप्रायः भएको छ।

नेपाल पक्षमा नेता युवराज ज्ञवालीले कोरोना महामारीका कारण ६७ वटा जिल्ला कमिटीको पुनर्गठन रोकिएको बताए।

‘अधिकांश जिल्लामा कमिटीमा निर्माण भइसकेको छ। तीव्र रुपमा काम अघि बढ्दै थियो तर कोरोनाको महामारीको कारण अहिले ब्रेक लाग्यो,’ ज्ञवालीले भने, ‘अहिले केन्द्रमै गतिविधिहरुलाई सिमित गरेका छौँ। तर, स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य तथा अन्य नेताहरुसँग भर्चुअल्ली सम्पर्क भइरहेको छ।’

उनले प्रमुख जनवर्गीय संगठनहरुको केन्द्रीय कमिटीहरुको पुनर्गठन भइसकेको तर यसलाई प्रदेश हुँदै जिल्लासम्म पुर्‍याउन नपाएको बताए।

उनले पार्टी विभाजनको अवस्थामा नवौँ महाधिवेशनकै जत्रो शक्ति आफूहरुसँग रहने दाबी गरे।

‘पार्टी कमिटीहरुमा हामी कमजोर छैनौँ। नवौँ महाधिवेशनको समयमा जति शक्ति हामीसँग थियो, त्यति नै रहने छ,’ ज्ञवालीले भने, ‘टिकट बाँड्ने काम ओलीजीले गर्नु भएको कारण उहाँ संसदका बलियो हुनु भएको हो। तर पार्टी संगठनभित्र त्यस्तो अवस्था छैन।’

नवौँ महाधिवेशनमा ओली र नेपाल पक्षबीच तीव्र प्रतिस्पर्धा भएको थियो। अध्यक्ष पदमा नेपाल ओलीसँग ४४ मतान्तरले पराजित भएका थिए।

ज्ञवालीले वामदेव गौतम र आफ्नो पक्षका नेताहरु धेरै भएको कारणले अखिल नेपाल किसान महासंघलाई यथावत राखेपनि अन्य जनवर्गीय संगठनहरुको पुनर्गठन गरिएको बताए। चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको नेपाल पक्षले सोही भेलाबाट देशव्यापी रुपमा कमिटी पुनर्गठन गर्ने निर्णय गरेको थियो।

नेता ज्ञवालीले २०७५ जेठ २ गतेको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक राखेर निर्णय गर्न अध्यक्ष केपी शर्मा ओली तयार भए मात्रै पार्टी एकै रहने बताए।

‘नेकपा एमाले निर्माण गर्न हामीले दशकौ लगाएका छौँ। यसलाई विभाजन गर्ने मन होइन। तर, ओलीले जसरी पार्टीलाई अघि बढाउन खोज्नु भएको छ, त्यसरी एकै रहन सक्दैन,’ ज्ञवालीले भने, ‘हामी उचित समय आएपछि नयाँ पार्टी बनाउने छौँ। पार्टीभित्र रहँदा र बाहिर रहँदा फरकफरक रणनीतिअनुसार अघि बढ्छौँ।’

एमालेमा रहुञ्जेल ओलीको प्रतिरोध गर्ने र विभाजनपछि वामपन्थी र कम्युनिस्ट शक्तिसँग सहकार्य गर्नेगरी आफूहरु लाग्ने उनको भनाइ छ।

‘अहिले कुनै पनि राजनीतिक दलसँग हाम्रो एकता हुने छैन र औपचारिक रुपमा कार्यगत एकता गरेर जाने घोषित नीति हुने छ,’ ज्ञवालीले भने।

ओलीसँग सहमति नभए संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला आएपछि नयाँ दल घोषणा गरिने उनले बताए।

‘अदालतको फैसला महत्वपूर्ण परिघटना हो। त्यसले राजनीतिमा दीर्घकालीन महत्व राख्छ,’ ज्ञवालीले भने, ‘त्यसलाई हेरेर पार्टीको विषयमा निर्णय हुन्छ।’

नेपाल पक्षले फागुन २३ गते अदालतको गरेको फैसलाअनुसार नेकपा माओवादी केन्द्रसँग एकता हुनुपूर्वको अवस्थामा पार्टीका कमिटीहरुलाई लैजानु पर्ने सर्त राख्दै आएको छ। उनीहरुले फागुन २३ यता ओलीले गरेका निर्णय खारेज हुनुपर्ने बताउँदै आएका छन्।

दोस्रो पटक संसद् विघटनअघि ओली पनि जेठ २ मा फर्किन राजी भएका थिए। त्यसको कार्यविधि बनाउनेदेखि सबै विषयमा सहमति जुटाउन कार्यदल पनि गठन गरिएको थियो। तर, एमालेभित्र राष्ट्रियसभाको निर्वाचनले पुनः दरार बढाएको छ। कार्यदलको बैठक बस्न सकेको छैन। औपचारिक रुपमा विघटन नगरिए पनि कार्यदल निष्क्रिय छ।

‘अहिले जे भएको छ, त्यसलाई हेर्दा ओलीले रामबहादुर थापा बादललाई जिताउन मात्र कार्यदल बनाउनुभएको थियो भन्ने थाहा हुन्छ,’ ज्ञवालीले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad