नेकपा एमाले नेता गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो पार्टीको घरमा डकैती गरेको आरोप लगाएका छन्।
संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि गत शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षका २६ सांसदसमेत बहुमत (१४९ जना) देखाएर राष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री पदको दाबी पत्र पेस गरेका थिए। तर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल पक्षका तिनै सांसदसमेत १५३ सांसद आफ्ना पक्षमा रहेको दाबी गरेपछि राष्ट्रपतिले दुवै दाबी पुष्टि हुन नसकेको भन्दै खारेज गरिन् र त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार शुक्रबार राति संसदै भंग गरिन्।
यसविरुद्ध देउवाले नेपाल पक्षका सांसदसमेत १४६ सांसदको हस्ताक्षरसहित सर्वाेच्च अदालतमा मुद्दा हालेका छन् र आफूलाई प्रधानमन्त्री पदमा नियुक्ति तथा प्रतिनिधि सभा पुनः स्थापना गर्न माग गरेका छन्। जसको सुनुवाइ भोलि शुक्रबार बस्ने नियमित संवैधानिक इजलासमा सुरु हुँदैछ। यसबाहेक यही कदमविरुद्ध अन्यले हालेका १९ रिटको सुनुवाइ भने बिहीबार सुरु भएको छ।
यसै सन्दर्भमा पूर्वसञ्चारमन्त्रीसमेत रहेका ओलीका अतिनिकट मानिने एमाले नेता बाँस्कोटाले कांग्रेसविरुद्ध ‘डकैती’को आरोप लगाएका हुन्।
‘एमालेको घरमा कांग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन् भन्ने,’ बिहीबार बाँस्कोटाले भनेका छन्, ‘कांग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकाले लोकतन्त्रको गीत गाउने हक गुमायो।’
उनले अगाडि दाबी गरेका छन्, ‘(संविधानको धारा) ७६ को ५ ले स्पष्ट रूपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ। सांसदहरूको स्वतन्त्र समर्थनलाई अस्वीकार गरेको छ। (उपधारा) २ र ५ जोडेर हेरौँ न।’

प्रतिक्रिया