कारोबार


ललितपुर महानगरलाई बिध ल्याबद्वारा २ सय सिलिण्डर अक्सिजन सहयोग

ललितपुर महानगरलाई बिध ल्याबद्वारा २ सय सिलिण्डर अक्सिजन सहयोग

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १४:३०,

बिध ल्याब र ललितपुर महानगरपालिकाबीच कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी भएको छ।

बिहीबार महानगरपालिकाको कार्यालयमा भएको समझदारीअनुसार युएनपार्कमा रहेको बिध ल्याबले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ।

बिधले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौं उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने समझदारीपत्रमा उल्लेख गरिएको छ।

संक्रमण बढेर भविष्यमा अन्य अक्सिजनसहितको सिलिण्डर आवश्यक परेमा बिध ल्याबले महानगरलाई सिलिण्डर उपलब्ध गराउने सहमति पनि भएको छ। कोभिड–१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी ल्याबले फिर्ता लैजाने समझदारी भएको महानगरपालिकाले जनाएको छ।

समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख चिरिबाबु महर्जन र बिध ल्याबको तर्फबाट अध्यक्ष भीमकान्त भण्डारीले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। महानगर क्षेत्रभित्र होम आइसोलेनसमा रहेको संक्रमितलाई बिध ल्याबले स्वास्थ्य सेवा पुर्‍याउने विषयमा पनि दुई पक्षबीच समझदारी बनेको ल्याबका अध्यक्ष भण्डारीले जानकारी दिए।

दोस्रो भेरियन्टको संक्रमितको संख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि बिध ल्याबले चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो। उक्त ल्याबले छिट्टै काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा ठूला अक्सिजन प्लान सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष भण्डारीले बताए।

मेयर महर्जनले ल्याबले गरेको सहयोगले महानगरभित्र भएका कोरोना संक्रमितको उपचारमा थप सहयोग पुग्ने बताए। महर्जनले कोभिड महामारीको यो घडिमा आफ्नै महानगरपालिकाभित्र स्थापित यस ल्याबले गरेको सहयोगले अमूल्य रहेको उल्लेख गरे।

अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्युदर बढ्न थालेपछि जनतालाई बचाउन आफूहरुले सक्दो सहयोग गर्ने ल्याबका सञ्चालक विके भण्डारीले कार्यक्रममा बताए। महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न प्रतिबद्ध भएको भन्दै आगामी दिनमा ल्याबका तर्फबाट अझै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको भण्डारीले बताए।

‘महानगरापालिकासँग हामीले पहिल्यैदेखि सहकार्य गर्न खोजेका थियौं । अब कोभिड फेरि नियन्त्रणभन्दा बाहिर जाने अवस्था आएको खण्डमा फेरि सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध छौं’ भण्डारीले समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रतिबद्धता गरेका छन्।

ल्याबले यसअघि पनि स्वास्थ्य सामग्री नभएर पीसीआर परीक्षण गर्न नसक्ने भएको अवस्थालाई मध्यनजर गर्दै सहयोग गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad