राजनीति


सर्वोच्च अदालतले भन्यो: प्रधानमन्त्री–प्रधान्यायाधीश मध्यराति भेटवार्ता गरेको भन्ने खबर झुटो

सर्वोच्च अदालतले भन्यो: प्रधानमन्त्री–प्रधान्यायाधीश मध्यराति भेटवार्ता गरेको भन्ने खबर झुटो

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ११:४६,

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेटवार्ता भएको भन्ने खबर झुटो भएको सर्वोच्च अदालतले जनाएको छ। 

केही अनलाइन पत्रिकाले प्रधानमन्त्री र प्रधानन्यायाधीश सोमबार मध्यराति भेटेको भन्ने खबर प्रकाशन गरेपछि अदातलते मंगलबार विज्ञप्ति जारी गरी खण्डन गरेको हो।

‘केही अनलाइनमा प्रकाशित समाचारहरूप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको छ’, सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उल्लिखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुराशययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दु:खद र खेदजन्य विषय हो।’

यसरी आधारहीन समाचार प्रकाशन गर्नु कानुन एवं पत्रकार आचारसंहिताको समेत विपरीत भएकाले कारबाही पनि हुन सक्ने चेतावनीसमेत अदालतले दिएको छ।

‘यस प्रकारका कार्यहरू संविधान, कानुन र स्वयं पत्रकार आचारसंहिताका समेत प्रतिकूल हुने हुँदा कानुनी दायरामा आउनसक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौं। साथै यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं,’ अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad