कोरोना भाइरस महामारी सुरु भएयता बारम्बार सोधिएको प्रश्न हो– महामारीविरुद्धको युद्धमा कुन मुलुक सफल र कुन मुलुक असफल हुँदैछन्? यो प्रश्नको एउटा मात्र स्पष्ट जवाफ हो– मुलुकहरुको सफलता र असफलता हरेक महिना फरक पर्छ। किनभने भाइरसले असफल भनिएका मुलुकहरुलाई सफल र सफल भनिएका मुलुकहरुलाई असफल साबित गरिरहेको छ।
महामारी रोक्न असक्षम भएको भन्दै अमेरिका र बेलायतको आलोचना भएको धेरै समय बितेको छैन। ‘अनुदार पपुलिस्ट’ शासक र ‘आफ्नो राष्ट्र महानता’ प्रति विश्वस्त भएका कारण उनीहरु असफल भएको निष्कर्ष निकालिएको थियो। तर, अहिले तीव्र गतिमा खोप अभियान सञ्चालन भएपछि यी दुई मुलुकको प्रशंसा भइरहेको छ। दुवै मुलुक यो गर्मीमा घुम्नका लागि सुरक्षित मानिएको छ।
अर्कोतिर, सुरुमा भाइरस नियन्त्रणमा लिन सफल भनिएका एसियादेखि युरोपसम्मका मुलुकहरु भने अहिले संक्रमणको तीव्र विस्तार र धिमा खोप कार्यक्रमका कारण आलोचित छन्। यी घटनाले के देखाउँछन् भने कुनै पनि मुलुकको सफलता र असफलतालाई व्याख्या गर्न राष्ट्रिय र सांस्कृतिक ‘स्टेरियोटाइप’को प्रयोग हुने गर्छ। र, यसलाई तुरुन्तै बिर्सिइन्छ पनि। यतिबेला अमेरिकालाई कसैले पनि ‘तेस्रो विश्वको मुलुक’ भनिरहेको छैन।
भाइरसलाई जित्ने रणनीतिको खोजी दक्षिण कोरिया र ताइवानबाट सुरु भएको थियो। त्यहाँ संक्रमित संख्या कम हुनुको जस तम्तयार कर्मचारीतन्त्र र नियमकानुन मान्ने व्यवस्थित समाजलाई दिइयो। त्यस्तो व्यवस्था ‘पश्चिमा मुलुकमा कल्पना गर्न पनि कठिन हुने’ विश्लेषण समेत गरियो। तर, यी विश्लेषण कोरियामा संक्रमितको संख्या बढ्नुभन्दा अघिका थिए।
एक सय दुई दिनसम्म स्थानीय संक्रमण नभेटिएपछि गत सेप्टेम्बरमा विश्व स्वास्थ्य संगठनले थाइल्यान्डलाई नमुना मुलुक घोषित ग¥यो। जनस्वास्थ्यका क्षेत्रमा ठूलो लगानीका कारण यस्तो सफलता हात लागेको संगठनको ठहर थियो। थुप्रै विश्लेषकले त त्यसभन्दा एक कदम अघि बढेर भने– थाइल्यान्ड र उसको मेकोङ क्षेत्रका छिमेकीहरुमा सरसफाइको संस्कृति छ र एकअर्कालाई हत्तपत्त नछुने बानीले गर्दा यस्तो सम्भव भएको हो।
भारतमा पनि महामारीको सुरुवातमा मृत्युदर कम हुनुलाई जीवनशैलीको उपज मानियो। घना बस्ती, ठूलो परिवार, फोहोरमैलायुक्त खाना र पानीका कारण करोडौँ भारतीयहरुमा भाइरसविरुद्ध प्रतिरक्षा शक्ति विकास भएको दाबी गरिएको थियो।
तर, पछिल्लो महिनामा थाइल्यान्डमा संक्रमण बढेको छ। भारत पनि भयानक संक्रमणको क्रमबाट गुज्रियो।
पश्चिममा पनि यस्ता सफलताका कथा क्षणभंगुर रहे। स्वीडेनले कडा लकडाउन गर्न अस्वीकार गर्दा प्रशंसा गर्नेहरु धेरै थिए। ‘नियम पालना गर्ने संस्कृति’ का कारण उनीहरुले स्वास्थ्य मापदण्ड पालना गर्ने अनुमान गरिएको थियो। त्यसबाहेक स्वीडेनका नागरिक एकान्तप्रेमी हुनाले स्वभाविक रुपमा सामाजिक दुरी कायम हुने बताइन्थ्यो। तर, त्यहाँ पनि गत वर्षको अन्त्यमा संक्रमण फैलियो र स्वीडेनका राजाले आफ्नो मुलुकले लिएको रणनीति असफल भएको घोषणा गरे।
त्यही समयमा जर्मनी पनि चिप्लियो। पहिलो लहर नियन्त्रण गरेपछि म पनि त्यस्ता विश्लेषकहरुमध्ये एक थिएँ, जसले जर्मनीले दक्ष सरकारदेखि लिएर सहकार्यमा आधारित संघीयताका कारण यो सफलता हासिल गरेको विश्लेषण गरेका थिए। अरुले ‘प्रमुख वैज्ञानिक’ एन्जेला मर्केलको सुझाव पालना गर्ने विवेकशील जनसंख्याको प्रशंसा गरेका थिए। तर, हिउँद लागेपछि दोस्रो लहर आइपुग्यो र पहिलोभन्दा निकै क्षति ग¥यो।
हिउँदमा क्यानडाले जति कठिनाइ सम्भवतः अन्य कुनै मुलुकले भोगेन। क्यानडामा अघिल्लो वर्षको गर्मीमा अमेरिकाको तुलनामा निकै कम संक्रमण थियो। त्यसैले क्यानडेली नागरिकहरुले आफ्नो मुलुकको गतिलो स्वास्थ्य प्रणाली, सामाजिक भावना र जथाभावी उपचारपद्धतिलाई विश्वास नगर्ने प्रधानमन्त्रीको नेतृत्वमा रहेको ‘स्वस्थ’ राजनीतिक संस्कृतिलाई जस दिए।
अहिले क्यानडामा भन्दा अमेरिकामा छिटो खोप वितरण भइरहेको छ। दैनिक संक्रमितको संख्या अमेरिकामा भन्दा क्यानडामा बढी छ। अहिले क्यानडेलीहरु अमेरिकी चिकित्सा प्रणालीको प्रशंसा गरिरहेका छन्। युरोपेलीहरुको भनाइ पनि उस्तै छ। तर, यो महामारीविरुद्ध मुलुकहरुले कस्तो काम गरे, इतिहासले मात्रै फैसला गर्न सक्नेछ। यसको टुंगो मे २०२१ मा लाग्दैन।
गतवर्ष धेरैले ठानेका थिए– भाइरसले अमेरिकी असाधारणतालाई समाप्त गर्नेछ। अहिले त्यो स्थिति छैन। तर, कुनै पनि ठूला मुलुकले ‘हर्ड इम्युनिटी’ प्राप्त गरेका छैनन्। लकडाउन गर्ने, खोल्ने फेरि लकडाउन गर्ने क्रम चलिरहेको छ। जसको गति विश्वका विभिन्न कुनामा फरक छ। भाइरसको अन्त्य कसरी हुन्छ, कसैलाई ठ्याक्कै थाहा छैन।
निश्चय नै खोप भाइरसविरुद्धको चमत्कारी हतियार बन्न सक्छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भने खोप प्रभावकारी देखिए पनि त्यसले सबै भेरियन्टविरुद्ध काम गर्छ भनेर ठोकुवा गरेका छैन। सीडीसीले अहिलेसम्म विजय घोषणा गरेको छैन। अरुले पनि त्यस्तो घोषणामा हतार नगर्नु बुद्धिमानी हुनेछ।
यसले महामारीविज्ञहरुलाई सिकाएको पाठ के हो भने लडाइँको बीचमा विजेता छान्नु गल्ती हो। अघिल्लो महिना विजेता घोषित भएका मुलुक यो महिना के गर्दैछन्, नियालौँ। भाइरसको पनि जीवित रहने आफ्नै दीर्घकालीन योजना छ भन्ने नबिर्सौँ।
त्योभन्दा महत्वपूर्ण सांस्कृतिक ‘स्टेरियोटाइप’का आधारमा गरिएका सफलता र असफलताका घोषणा कति बेकार रहेछन्, हेरौँ। राष्ट्रको उदय र अन्त्यको भविष्यवाणीमा हतारो कहिल्यै उचित हुँदैन। कोरोना भाइरसले फेरि पनि यस्तो सतही सोचलाई उदांगो पारिदिएको छ।
(फाइनान्सियल टाइम्सबाट। रुचिर शर्मा ‘द टेन रुल्स अफ सक्सेसफुल नेसन्स’ पुस्तकका लेखक हुन्)

प्रतिक्रिया